पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि डिफेन्डिङ च्याम्पियन युभेन्टसले अपराजित यात्रालाई निरन्तरता दिएको छ । शनिबार राति घरेलु मैदानमा युभेन्टसले बोलोग्नालाई २–१ले हरायो ।
यो जितसँगै युभेन्टसले शीर्ष स्थानमा ४ अंकका अग्रता कायम गरेको छ । ८ खेलमा ७ जित र १ बराबरी खेलेको यभुेन्टसको २२ अंक छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको १८ अंक छ । तर, उसले १ खेल कम खेलेको छ । १७, १६ र १४ अंक जोडेको एट्लान्टा, नापोली र रोमा क्रमशः तेस्रो, चौथो र पाचौं स्थानमा छन् ।
१९ औं मिनेटमा रोनाल्डोको गोलमा युभेन्टसले सुरुवाती अग्रता लियो । उनले एकल प्रयासमा गोल गरेका थिए । यो रोनाल्डोको करिअरको ७०१औं गोल हो । अघिल्लो साता उनले युरोकप छनोटमा युक्रेनविरुद्ध गोल गर्दै ७ सय गोलको कोसेटुंगा पार गरेका थिए ।
२६औं मिनेटमा बालोग्नाका डानिलोले गर्र्दै खेललाई बराबरीमा ल्याएका थिए । पहिलो हाफमा १–१को बराबरीमा सकिएको खेल दोस्रो हाफको सुरुवातमै युभेन्टसले पुनः अग्रता लियो । ५४औैं मिनेटमा मिरालेम पजानिकले गोल गरेका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र खेल युभेन्टसले २–१ले जित्यो ।
खेलमा युभेन्टसले ६५ प्रतिशत बल पोजेसन बनाएको थियो । उसले बोलाग्नाको पोस्टमा २३ सट प्रहार गरेकोमा १० सट फ्रेममा थियो । यता, बोलोग्नाले भने ९ सट प्रहार गर्दा २ सट टार्गेटमा थियो ।