क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्किएका छन्। युनाइटेडले आफ्नो आधिकारिक वेबसाइटमार्फत् रोनाल्डो ओल्ड ट्राफोर्ड फर्किएको घोषणा गरेको हो।
रोनाल्डोलाई प्रिमियर लिगमा फर्काउन युनाइटेड र युभेन्टसबीच सहमति भइसकेको क्लबले जनाएको छ। रोनाल्डोसँग भने व्यक्तिगत सहमति, भिसा तथा मेडिकललगायतका कुरामा सहमति हुन बाँकी नै रहेको युनाइटेडले जनाएको छ।
पाँचपटक बलोन डिओर जितेका रोनाल्डो विश्व फुटबलले देखेको सर्वकालिन महान खेलाडीमध्येका एक हुन्। आफ्नो करीयरमा ३० वटा ठूला ट्रफी जित्न सफल रोनाल्डोले पाँचपटक च्याम्प्यिन्स लिग जितेका छन् भने चारपटक फिफा क्लब वर्ल्डकप जितेका छन्।
यस्तै, उनले इंग्ल्यान्ड, स्पेन र इटालीबाट लिग खेल्दै पाँचपटक च्याम्पियन बन्दा पोर्चुगलको राष्ट्रिय टिमलाई युरोपको च्याम्पियन समेत बनाएका छन्।
यसअघि म्यानचेस्टर युनाइटेबाट खेल्दा रोनाल्डोले २९२ खेलमा ११८ गोल गरेका थिए।