°
, June 7, 2023 in

ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा

SHARE:

स्टार खेलाडीले भरिपूर्ण ब्राजिललाई पराजित गर्दै क्रोएसिया लगातार दोस्रोपटक फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले पराजित गर्दै क्रोएसियाले अन्तिम ४ मा आफ्नो स्थान गरेको हो ।

९० मिनेटको निर्धारित खेल गोलरहित बराबरीमा टुगिंएपछि खेल एक्स्ट्रा टाइममा पुगेको थियो । एक्स्ट्रा टाइममा दुवै टिमले समान १–१ गोल गरेपछि सेमिफाइनल प्रवेश गर्ने टिमको टुंगो पेनाल्टी सुटआउटमार्फत् लागेको थियो । ब्राजिलका लागि नेमारले १०६औं मिनेटमा सानदार गोल गर्दै अग्रता दिलाएका थिए भने ब्रुनो पेट्कोभिचले ११७औं मिनेटमा गोल फर्काउँदै क्रोएसियालाई हारको मुखबाट जोगाएका थिए ।

ब्राजिलविरुद्धको खेलमा क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिच नायक बनेका थिए । उनले उत्कृष्ट बचाउ गर्दै खेललाई एक्स्ट्रा टाइम हुँदै पेनाल्टी सुटआउटसम्म पुर्‍याएका थिए ।

पेनाल्टी सुटआउटमा उनले रोड्रिगोले प्रहार गरेको ब्राजिलको पहिलो पेनाल्टी जोगाएका थिए । ब्राजिलका लागि पेड्रो र कासिमेरोले गोल गरेका थिए भने मार्किन्होसले प्रहार गरेको निर्णायक पेनाल्टी बारमा लागेर फर्किएपछि क्रोएसियाको जित पक्का भएको थियो । त्यसअघि क्रोएसियाका लागि निकोला भ्लासिच, लोभ्रो माएर, लुका मोडरिच र मिस्लाभ ओर्सिचले गोल गरेका थिए ।

क्रोएसियाले अब सेमिफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्र्सबीचको खेलको विजेताको सामना गर्नेछ ।

SHARE: