टि–२० विश्वकप : क्याम्फरले लगातार ४ बलमा विकेट लिएपछि आयरल्यान्डको सानदार जित

युएई र ओमानमा संयुक्त रुपमा आयोजना भइरहेको टि–२० विश्पकपमा आयरल्यान्डले सानदार सुरुआत गरेको छ। विश्वकपको पहिलो चरणअन्तर्गत सोमबार भएको खेलमा आयरल्यान्डले नेदरल्यान्डलाई ७ विकेटले हराउँदै प्रतियोगितामा सानदार सुरुआत गरेको हो।

आबुधाबीमा नेदरल्यान्डले दिएको १०७ रनको सामान्य लक्ष्य आयरल्यान्डले १५.१ ओभरमा ३ विकेट मात्र गुमाएर भेट्टायो। उसका लागि ग्यारेथ डेनिलीले ४४, पाउल स्टर्लिङले ३० रनको योगदान दिए। नेदरल्यान्डका फ्रेड क्लासेन, ब्राण्डन ग्लोभर र पिटर सिलारले समान १ विकेट लिए।

पहिले ब्याटिङ गरेको नेदरल्यान्डले २० ओभरमा अलआउट हुँदै १०६ रन मात्र बनाउन सक्यो । म्याक्स ओ’डोडले ५१ रनको अर्धशतकीय पारी खेले पनि अन्यले गतिलो योगदान दिन नसक्दा नेदरल्यान्ड सस्तैमा समेटियो।

नेदरल्यान्डलाई सस्तैमा समेट्ने क्रममा आयरल्याण्डका कर्टिस क्याम्फरले घातक बलिङ गरे। उनले ह्याट्रिकसहित लागतार ४ बलमा विकेट लिए । क्याम्फर लगातार ४ बलमा विकेट लिने तेस्रो खेलाडी हुन् । यस्तै मार्क एडिरले ३ विकेट लिए ।