भेट्रान ब्राजिलियन डिफेन्डर डानी अल्भेस बार्सिलोना फर्किए

ब्राजिलका भेट्रान डिफेन्डर डानी अल्भेस स्पेनिस क्लब बार्सिलोना फर्किएका छन्। उनी फ्रि एजेन्टमार्फत ५ वर्षपछि पुनः बार्सिलोना फर्किएका हुन्।

अल्भेस सिजनको अन्त्यसम्मका लागि बार्सिलोनामा अनुबन्धित भएका हुन्। उनले अर्को सातादेखि बार्सिलोनामा प्रशिक्षण थाल्नेछन् । तर, विन्टर ट्रान्सफर विन्डो सुरु भएपछिमात्र अल्भेसले खेल्न पाउने छन्।

बार्सिलोनाले क्लबकै पुर्व खेलाडी जाभी हर्नान्डेजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि ३८ वर्षीय अल्भेसको बार्सिलोना फर्कने सपना साकार भएको हो ।

बार्सिलोनाको इतिहासमा उनलाई सबैभन्दा सफल राइट ब्याकको रुपमा हेरिन्छ । अल्भेसले बार्सिलोना छाडेपछि उनको विकल्पमा बार्सिलोनाले थुप्रै खेलाडीलाई प्रयोग गरेपनि उनी जत्तिको खेलाडी पाउन सकेका छैनन् ।

अल्भेसले सन् २००८ मा स्पेनिस क्लब सेभियाबाट बार्सिलोना पुगेका थिए । उनले सन् २०१५–१६ को सिजनसम्म बार्सिलोनाबाट ३९१ खेलमा २१ गोल गर्दा २३ उपाधि जितेका थिए । उनी खेल करियरमा सर्वाधिक ४३ ट्रफी जित्ने खेलाडी हुन् ।

बार्सिलाना छाडेपछि उनले इटालियन क्लब युभेन्ट्समा एक सिजन खेलेका थिए । त्यसपछि उनले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा दुई सिजन बिताएका थिए । त्यसपछि उनी ब्राजिलीयन क्लब साओ पाउलो पुगेका थिए । यो सिजनको अन्त्यसँगै उनी क्लबविहीन बनेका थिए।

बार्सिलोनाको मुख्य प्रशिक्षकको रुपमा आफ्नो पहिलो कदममा आफ्नो पूर्व सहकर्मीलाई फिर्ता ल्याउनु जाभीको चाखलाग्दो निर्णय हो । आल्भेसमा अझैपनि उही गतिमा खेल्न सक्ने क्षमता र उपाधिको भोक छ ।

टोकियो ओलम्पिकमा ब्राजिलले स्वर्णपदक जित्दा टोलीका सदस्य रहेका आल्भेसको चाहना अर्को वर्ष कतारमा आयोजना हुने विश्वकप खेल्ने रहेको छ । उनी प्रशिक्षक टिटेको टोलीमा पर्ने लक्ष्यमा छन्।