पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डानिस अजिजले चितवन टाइगर्सबाट एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । चितवनले पहिलो विदेशी खेलाडीको रुपमा अजिजलाई अनुबन्ध गरेको हो ।
देब्रे हाते ब्याट्सम्यान अजिजले यसैवर्ष पाकिस्तानबाट क्रमशः दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध खेल्दै एकदिवसीय र टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। अजिजले नेसनल टी–२० कपमा असाधारण प्रदर्शन देखाएका थिए, विशेष गरी म्याच फिनिसिङमा उनले विशेष इनिङ्स खेलेका थिए ।
चितवन टाइगर्सका अप्रेसन्न डिरेक्टर विनिता चौधरीले अजिजलाई भित्र्याउँदा उत्साहित रहेको बताइन् । ‘नयाँ सिजनको ईपीएलका लागि डानिसलाई विदेशी खेलाडीको रुपमा भित्र्याउँदा हामी उत्साहित रहेका छौं, पाकिस्तानको भविष्यको ब्याट्सम्यानको रुपमा उनलाई हेरिएको छ । उनको बिग हिटिङ र फिनिसिङ क्षमताले हाम्रो युवा ब्याटिङ लाइन अपलाई नयाँ आयाम दिने छ’ चितवनले आइतबार जारी गरेको विज्ञप्तिमा विनिता चौधरीले भनेकी छन् ।
चौथो संस्करणको ईपीएल आगामी असोज ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । लिगमा चितवनसँगै ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।