डेभिड मिलरले उत्कृष्ट प्रदर्शन गरेपछि आईपिएलमा गुजरात टाइटान्स विजयी भएको छ। आइतबार राति भएको खेलमा डेभिड मिलरले उत्कृष्ट ब्याटिङ गरेपछि गुजरागतले चेन्नाइ सुपर किंसमाथि विकेटको रोमाञ्चक जित निकालेको हो ।
पहिले ब्याटिङ गरेको चेन्नाइले गुजरातलाई १७० रनको लक्ष्य लिएको थियो । उक्त लक्ष्य गुजरातले १९।५ ओभरमा ७ विकेट गुमाएर भेटाएको हो ।
जितका लागि गुजरातका डेविड मिलरले एक्लै अविजित ९४ रनको योगदान गरे । खराब स्थितिमा पुगिसकेको गुजरातलाई अन्तिम ओभरमा १३ रन आवश्यक थियो । क्रिजमा रहेका मिलरले छक्का र चौथो प्रहार गरेपछि गुजरात जित नजिक पुग्यो । अन्तिम २ बलमा गुजरातलाई दुई रन नै आवश्यक थियो र मिलरले पाँचौं बलमै दुई रन लिएर जिताए ।
अन्तिम तीन ओभर बाँकी हुँदा गुजरात खराब स्थितमा थियो । १८ बलमा ४८ रन चाहिएको थियो । यो अवस्थामा कार्यवहाक कप्तान राशिद खानको तीन छक्का र एक चौका मद्दतमा गुजरातले २५ रन जोडेपछि खेल पक्षमा फर्कियो । रशिद २१ बलमा २ चौका र ३ छक्कासहित ४० रन बनाए।
चेन्नइका ड्वेन ब्राभोले चार ओभरमा एक मेडनसहित ३ तथा महेश थिक्सेनाले दुई विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको चेन्नइले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १६९ रन बनाएको थियो । ऋतुराज गायकवाडले ७३, अम्बाती रायुडूले ४६, रविन्द्र जडेजाले २२, शिभव दुवेले १९, रोबिन उथप्पाले ३ र मोईन अलीले एक रनको योगदान गरे ।
गुजरातका अल्जारी जोशेफले दुई, मोहम्मद शामी र यश दयालले एकरएक विकेट लिए ।
आफ्नो छैटौं खेलमा रोमाञ्चित जित निकालेको गुजरात १० अंकसहित तालिकाको शीर्षस्थानमा छ । चेन्नाइ भने ६ खेलमा पाँच हार व्यहोर्दै अंक दुई अंकका साथ तालिकाको ९औं स्थानमा छ ।