कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपिएल)को पुनः शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति अबुधाबिमा भएको खेलमा कोलकातालाई ८ विकेटले हराउँदै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।
८ खेलमा ६ जित र २ हारको सामाना गरेको मुम्बई १२ अंकका साथ शीर्ष स्थानमा रहेको हो । मुम्बईसँगै दिल्ली क्यापिटल्सको पनि ८ खेलमा १२ अंक नै छ, तर उ रनरेटमा पछि रहँदै दोस्रो स्थानमा छ । १० अंक जोडेको रोयल च्यालेन्जर्स बैंग्लोर तेस्रो स्थानमा छ भने ८ अंकका साथ कोलकाता पाँचौंमा छ ।
पहिला ब्याटिङ गर्दै कोलकाताले दिएको २४९ रनको सामान्य लक्ष्य मुम्बईले १६.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । उसका लागि क्वेन्टन डि ककले टकआउट ७८ रनको पारी खेले । उनले ४४ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । यस्तै, कप्तान रोहित शर्माले ३५ रन बनाउँदा हार्दिक पाण्ड्याले ११ बलमा २१ रन बनाए । कोलकाताका वरुण चक्रवर्ती र शिवम मावीले १–१ विकेट लिए ।
मुम्बईका बलरले उत्कृष्ट बलिङ गरेपछि अबुधाबिमा टस जितेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १४८ रन बनायो । माथिल्लो क्रममा ब्याट्सम्यान लगतार आउट हुँदा कोलकाता ६१–५ को खराब अवस्थामा थियो । त्यसपछि कप्तान इओन मोर्गन र प्याट कमिन्सले छैठौं विकेटका लागि ८७ रनको साझेदारी गर्दै टिमलाई मध्यम स्कोरमा पु¥याएका थिए ।
कमिन्सले ३६ बलमा ५ चौका र २ छक्का प्रहार गर्दैै ५३ रन बनाए भने मोर्गनले २९ बलमा समान २ चौका र छक्काको मद्दतमा ३९ रन बनाए । यस्तै, सुभमन गिलले २३ रन बनाएका थिए । मुम्बईका राहुल चहरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । यस्तै, जसप्रित बुमराह, नाथन कुल्टर नाइल र ट्रेन्ट बोल्टले समान १ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल हुनेछ । दुबईमा दिउँसो ३ः४५ मा हुने खेलमा राजस्थान रोयल्स र बैंग्लोर भिड्ने छन् भने साँझ ७ः४५मा सारजाहमा हुने खेलमा दिल्लीले चेन्नई सुपर किंग्सको सामना गर्ने छ ।