
एसियन क्रस कन्ट्रीमा दीपकले दिलाए नेपाललाई ऐतिहासिक स्वर्ण
एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालले ऐतिहासिक स्वर्ण जितेको छ। गोकर्ण फरेस्ट रिसोर्टमा भएको च्याम्पियनसिपको सिनियर पुरुष १० किलोमिटरमा दीपक अधिकारीले नेपाललाई दिलाएका हुन्।
एसियन क्रस कन्ट्रीमा नेपालले जितेको यो पहिलो स्वर्ढा हो। १३औं दक्षिण एसियाली खेलकुदका कास्य पदक विजेता तथा नवौं राष्ट्रिय खेलकुदका स्वर्णधारी दीपकले ३३ मिनेट ५२.०७० सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जिते ।
यस्तै जापानका डाइची कामिनोले ३३ मिनेट ५२.०८५ मा दौड पूरा गरेर रजत जित्दा नेपालकै मुकेशबहादुर पाल ३४ मिनेट ३२.६३५ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जिते ।
सिनियर पुरुष टिम इभेन्टमा पनि नेपालले स्वर्ण जितेको छ । दीपक, मुकेशसँगै दिपक सुहाङ नेपालका लागि टिममा स्वर्ण दिलाए । यस इभेन्टमा इरानले रजत र भारतले कास्य पदक जितेको छ ।
च्याम्पियनसिपमा नेपालले सिनियर महिला १० मिटरमा नेपालकी राजपुरा पछाईले रजत जितिन् । महिला सिनियर टिमतर्फ पनि नेपालले रजत जित्यो । यस बाहेक नेपालले जुनियर महिलामा दुई रजत र जुनियर पुरुषमा एक कास्य जितेको छ ।