समाचार

दीपक र सुष्मा वर्ष खेलाडी घोषित

धावक दीपक अधिकारी र बक्सर सुष्मा तामाङ वर्षको उत्कृष्ट खेलाडी बनेका छन्।

खेलकुदसम्बन्धी न्यूजपोर्टल ‘हाम्रो खेलकुद’ले आफ्नो आठौं वार्षिकोत्सवका आवसरमा दीपक र सुष्मालाई वर्ष उत्कृष्ट खेलाडी घोषणा गर्दै सम्मन गरेको हो। सो अवसरमा दुवैलाई ट्रफीसहित नगद २५ हजार रुपैयाँ प्रदान गरियो।

नेपालका दीपक अधिकारीले गत फागुनमा नेपालमा सम्पन्न १६औं एसियन क्रस कन्ट्रीको सिनियर पुरुष १० किलोमिटर एतिहासिक स्वर्ण पदक जितेका थिए । एसियाली स्तरको यो प्रतियोगितामा नेपालले सिनियरमा स्वर्ण पदक जितेको यो पहिलो पटक थियो।

उता सुष्माले थाइल्यान्डमा सम्पन्न एएसबिसी यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपको न्युनतम ४५ देखि ४८ केजी तौल समूहमा रजत पदक जितेकी थिइन्। एसियाली च्याम्पियनसिपमा नेपालले रजत पदक जितेको यो पहिलो पटक थियो।

यस्तै, गत वर्ष हाम्रो खेलकुदले ७ सर्वकालिन खेलाडीलाई सम्मान गरेको थियो।