उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले जितेको छ। आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३–१ले पराजित गर्दै धनगढीले उपाधि जितेको हो।
निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा धनगढी भाग्यमानी रह्यो। निर्धारित समयमा २ गोलको अग्रता जोगाउन नसक्दा ललितपुर उपविजेतामै समीति भयो।
टाइब्रेकरमा धनगढीका लागि रेबिका पाण्डे, रेखा पौडेल र बिर्सना चौधरीले गोल गरे भने सरस्वती रोकायाको प्रहार ललितपुरकी गोलकिपर अंकिता राईले बचाईन् । यता, ललितपुरकी निर्मला विकले मात्र गोल गर्न सकिन् । आशा कुँवर र रजनी थोकरको प्रहार धनगढीकी गोलकिपर उषा नाथले बचाउँदा सम्झना लावतीको प्रहार बाहिरिएको थियो।
१२औं मिनेटमा मनिषा सेनले गोल गर्दै ललितपुरलाई सुरुआती अग्रता दिलाएकी थिइन् । १६औं मिनेटमा निर्मला बिकले गोल गर्दै ललितपुरको अग्रता दोब्बर पारिन् । २४औं मिनेटमा सिमा रावलले गोल गर्दै धनगढीलाई २–१ को स्थितिमा ल्याईन ।
३९औं मिनेटमा रजनी थोकरले गोल गरेपछि ललितपुरले पहिलो हाफमा ३–१ को अग्रता लियो। तर, दोस्रो हाफमा धनगढी खेलमा फर्कियो। ४९औं मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै धनगढीलाई खेलमा फर्काइन् । ६४औं मिनेटमा चन्द्राले नै गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा सकियो।
उपाधिसँगै धनगढीले ५ लाख नगद हात पारेको छ। उपविजेता बनेको ललितपुरले ३ लाखमा चित्त बुझायो। फाइनल पुगेका दुवै टिम उपमेयर कप राष्ट्रिय महिला लिगका लागि छनोट भएका छन्।