दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दोस्रो जित हात पारेको छ। आइतबार भएको खेलमा दिल्लीले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो
शिखर धवनले उत्कृष्ट ब्याटिङ गरेपछि दिल्लीले १९६ रनको लक्ष्य १८.२ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गर्यो । धवनले ४९ बल खेल्दै १३ चौका र २ छक्का मद्दतमा दिल्लीका लागि सर्वाधिक ९२ रन बनाए । यस्तै अर्का ओपनर पृथ्वी शले ३२ रन योगदान गरे । दिल्लीका लागि डेब्यु गरेका स्टिभ स्मिथ ९ रन बनाए ।
मार्कुस स्टोइनिस अविजित २७ रन बनाउँदा ललित यादव १२ रनमा अविजित रहे । पञ्जाबका झेइ रिचर्डसनले २ तथा अर्शदीप सिंह र रिले मेरेडिथले समान १ विकेट लिए ।
मुम्बईस्थित वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । आक्रामक शुरुवात गरे पनि पञ्जाबले गतिलो फिनिसिङ गर्न सकेन ।
पहिलो विकेटका लागि मायांक अग्रवाल र कप्तान लोकेश राहुलले १२.४ ओभरमै १२२ रनको साझेदारी गरेका थिए । तर यी दुई खेलाडी आउट भएपछि पञ्जाबको रन गति रोकियो । अग्रवालले सर्वाधिक ६९ रन बनाए । उनले ३६ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे । राहुलले ६१ रन जोडे।
बलिङमा दिल्लीका क्रिस वोक्स, कागिसो रबाडा, लुकमन मेरिवाला र आभेष खानले १–१ विकेट लिए ।
दोस्रो जितपछि ३ खेलबाट ४ अंक जोडेको दिल्ली मुम्बई इन्डियन्सलाई रनरेटमा पछि पार्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ । दोस्रो हारपछि पञ्जाब ३ खेलबाट २ अंकसहित सातौं स्थानमा छ ।