विश्व फुटबलका महान खेलाडी अर्जेन्टिनाका पूर्वफुटबलर डिएगो म्याराडोनाको निधनमा अर्जेन्टिनी सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । ६० वर्षीय म्याराडोनाको बुधबार मृत्यु भएको थियो ।
म्याराडोनाको शवको पोस्टमार्टम हुन बाँकी छ । म्याराडोनाको निधन बुधबार ब्युनस आयर्सको टाइगर सहरस्थित उनकै निवासमा भएको हो । नोभेम्बरको सुरुआतमा म्याराडोनाको मस्तिष्कबाट ब्लड क्लट निकाल्न अपरेसन गरिएको थियो ।
म्याराडोनाको पार्थिव शरीरलाई राष्ट्रपति कार्यालय कासा रोसारामा ल्याइएको छ । यहाँ तीन दिनसम्म मानिसहरुले उनलाई अन्तिम श्रद्धान्जली दिन सक्नेछन् । म्याराडोनाका साथी ओहवाल्दो अर्बिलेसले म्याराडोनाले पाएको जति चर्चा र प्रशंसा आजका सुपरस्टारहरु लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोले नपाएको बताए ।
म्याराडोनालाई मेसी, रोनाल्डोदेखि ब्राजिलका महान खेलाडी रहेका पेलेले पनि श्रद्धाञ्जलि दिएका छन् । पेलेले अन्तिम श्रद्धाञ्जली दिँदै लेखेका छन्, ‘मैले एक नजिकको साथी गुमाएको छु र विश्वले एक महान खेलाडी गुमाएको छ । मलाई आशा छ कि एक दिन हामी दुवै आकाशमा एकसाथ फुटबल खेल्नेछौँ ।’