श्रीलंकन टिमका विकेटकिपर ब्याट्सम्यान दिनेश चण्डिमलले इपिएल खेल्ने

श्रीलंकन राष्ट्रिय टिमका पूर्व कताप्न तथा सन् २०१४को टि–२० विश्वकप विजेता टिमका सदस्य दिनेश चण्डीमलले आसन्न एभरेस्ट प्रिमियर लिग खेल्ने भएका छन्। ३१ वर्षीय विकेटकिपर ब्याट्सम्यान चण्डीमलले भैरहवा ग्लाडियटर्सबाट चौथो संस्करणको इपिएल खेल्न लागेका हुन्।

शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले चण्डीमललाई अनुबन्धन गरेको औपचारिक घोषणा भने गरेको छैन। उसले चण्डिमलका विशेषता फेसबुकमा पोष्ट गर्दै आफूले अनुबन्धन गर्न लागेका खेलाडी अनुमान गर्न भनेको छ । उसले सन् २०१४ टि–२० विश्वकप विजेता टिमको सदस्य, श्रीलंकन टिमका सबैभन्दा कान्छा कप्तान र २४ बलमा ५२ रन बनाउने खेलाडीलाई ल्याउन लागेको उल्खेल गरेको छ।

त्यसैले ती खेलाडी दिनेश चण्डिमल हुन भन्ने कुनै द्विविधान हुने छैन । चण्डिमल सन् २०१३ मा २३ वर्षको उमेरमा श्रीलंकन टिमको कप्तान बनेका थिए । उनी सन् २०१४को विश्वकप जित्दा टिममा रहे पनि कप्तानी भने लासिथ मालिंगाले गरेका थिए।

सन् २०१० मा श्रीलंकन टिममा डेब्यू गरेका चण्डिमलले ६२ टेस्ट, १४९ एकदिवसीय र ५७ टि–२० खेलेका छन् । त्यसमा उनले टेस्टमा ४१५८, एकदिवसीयमा ३६९८ र टि२०मा ८६८ रन बनाएका छन्।

यसअघि इपिएलमा खेल्नका लागि पाकिस्तानका शाहिद अफ्रिदी, शोयब मल्लिक र डानिस अजिज तथा वेस्टइन्डिजका कार्लोस ब्रेथवेइट आउने पक्का भइसकेको छ। ती म्ध्ये अफ्रिदीले काठमाडौं किंग्स इलावेन, अजिजले चितवन टाइगर्सबाट खेल्ने छन् भने मल्लिक र ब्रेथवेटको टिम घोषणा हुन बाँकी छ।

नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा रहने भैरहवामा शरदसँगै आरिफ शेख, अविनाश बोहरा, कुशल मल्ल, प्रदीप ऐरी, भुवन कार्की, रोहित पौडेल, दिपेश श्रेष्ठलगायत खेलाडी छन् ।