दीपेन्द्र र देवको कीर्तिमानी साझेदारी, पिएनजीविरूद्ध नेपाल बलियो

टियू मैदानमा जारी पपुवा न्युगिनीविरुद्धको एकदिवसीय सिरिज दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरी र देव खनालले कीर्तिमानी साझेदारी गरेका छन्। पिएनजीविरुद्ध दीपेन्द्र र देवले तेस्रो विकेटका लागि १२९ रनको कीर्तिमानी साझेदारी गरे।

यो साझेदारी एकदिवसीय क्रिकेटको सर्वाधिक ठूलो साझेदारी हो । यसअघि शुक्रबार रोहित पौडेल र आरिफ शेखले पाँचौं विकेटको लागि १ सय ४ रनको साझेदारी गर्दै कीर्तिमान बनाएका थिए ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपाल तीन ओभरभित्र दुवै ओपनर गुमाएको नेपालले देव र दीपेन्द्रले अर्धशत प्रहार गरेपछि बलियो अवस्थामा आएको छ। ताजा अवस्थामा नेपालले ३३ ओभरमा ३ विकेट गुमाएर १४९ रन बनाएको छ।

दोस्रो एकदिवसी खेलिरहेका देवले ८६ बलमा ४ चौका ३ छक्का प्रहार गर्दै ७२ रन बनाए । यो उनको राष्ट्रिय टिममा पहिलो अर्धशतक हो। यस्तै, दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक बनाएका छन्। सम्हालिएर ब्याटिङ गरेका उनले १०५ बल खेल्दै ६६ रन बनाएका छन।

अहिले क्रिजमा दीपेन्द्र र रोहितकुमार पौडेल छन्।