काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब समूह विजेता बन्दै सेमिफाइलनमा प्रवेश गरेको छ । आइतबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा प्रदेश २ लाई १५६ रनको फराकिलो अन्तरले पराजित गर्दै पुलिस समूह बीको विजेता बन्दै अन्तिम ४ मा प्रवेश गरेको हो ।
समूहका चारवटै खेलमा जित निकालेको पुलिसको ८ अंक भयो । ६ अंकका साथ त्रिभुवन आर्मी क्लब उपविजेताका रुपमा समूह बीबाट सेमिफाइनल प्रवेश गरेको छ । समूह बीमा प्रदेश २ चार अंक जोड्दै तेस्रो, प्रदेश १ दुई अंकका साथ चौथो र कर्णाली जितबिहीन बन्दै पुछारमा रह्यो ।
समूह चरणको अन्तिम खेलमा पहिला ब्याटिङ गर्दै पुलिसले दिएको २५४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले २९ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाउन सक्यो । उसका लागि हरिशंकर साहले २९, कप्तान महबुब आलमले २१, रवि साहले १५ र सुरज पटेलले १२ रन बनाए ।
प्रदेश २ लाई सस्तैमा समेट्ने क्रममा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५ विकेट लिए । उनले १० ओभरमा १ मेडनसहित २८ रन खर्चिए । यस्तै, ललितनारायण राजवंशीले ३ तथा सागर ढकाल र कुशल भुर्तेलले समान १ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको पुलिसले माथिल्लो क्रममा ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५३ रन बनायो ।
उसका लागि अमित श्रेष्ठले अर्धशतक बताए भने ओपनरद्वय सुनिल धमला र अनिल साहले क्रमश ४३ र ३७ रन बनाए । अमितले ४२ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । यस्तै, कुशल भुर्तेलले ३५, आरिफ सेखले ३२ र दीपेन्द्रसिंह ऐरीले १८ रन बनाए ।
प्रदेश २ का संसद सेखले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा ४१ रन खर्चिए । यस्तै, रसिद खानले २ तथा महबुब आलम, कुमार थापा, दिव्यांशु मल्लिकले समान १ विकेट लिए । ५ विकेट लिएका पुलिसका दीपेन्द्र ऐरी प्लेयर अफ दी म्याच भए ।
तस्बिर : हाम्रो खेलकुद टडकम