समाचार

दीपेन्द्रको उत्कृष्ट बलिङ र फिल्डिङ, मोन्ट्रेल क्वालिफायरमा

नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ग्लोबल टि–२० लिग क्यानडामा पुनः एक पटक उत्कृष्ट प्रदर्शन गरेका छन्। एलिमिनेटरमा खेलमा ब्याटिङको अवसर नपाएपनि दीपेन्द्रले बलिङ र उत्कृष्ट फिल्डिङ गरे।

ब्राप्टन वुल्भ्सविरुद्धको खेलमा दीपेन्द्र १ ओभरमा ६ रन मात्र खर्चेर १ विकेट लिएका थिए भने २ रनआउट गरेका थिए।

दीपेन्द्रको उत्कृष्ट प्रदर्शन मद्दतमा मोन्ट्रेल ब्राप्टनलाई ९ विकेटले हराउँदै क्वालिफायर २मा पुगेको छ। ब्राप्टनले दिएको १०५ रनको झिनो लक्ष्य मोन्ट्रेलले १४.२ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो।

उसका लागि कप्तान क्रिस लिनले अर्धशतकीय इनिङ खेले । उनले ४७ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै नकआउट ६३ रन बनाए। यस्तै, मुहम्मद वासिमले २४ बलमा २३ र श्रीमन्था विजयरत्नेले १५ बलमा १५ रन बनाए।

ब्राप्टनका लागि १ मात्र विकेट साहिद अहमदजाइले लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको ब्राप्टनले २० ओभरमा अलआउट हुँदै १०४ रन मात्र बनाउन सक्यो । उसका लागि आरोन जोन्सनले सर्वाधिक ३१ रन बनाउँदा कोलिन डे ग्रान्डहोमले २०, लोगन भान डे विकले १५ रनको योगदान दिए।

ब्राप्टनलाई सस्तैमा रोक्ने क्रममा मोन्ट्रेलका आयन खान र कार्लोस ब्रेथवेटले समान २ विकेट लिए। यस्तै, अब्बस अफ्रिदी र दीपेन्द्रले १ विकेट लिए। मोन्ट्रोलले ४ रनआउट गरेको थियो।

अब, उसले फाइनल प्रवेशका लागि आज क्वालिफायर १मा पराजित भ्यानकुभर नाइट्ससँग खेल्ने छ।