राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामी र नोपली सेनाकी रशिला महर्जनले प्रथम राष्ट्रव्यापी भक्तपुर खुला व्याडमिन्टन च्याम्पियनसिपको उपाधि उचालेका छन् ।
पुरुष एकल तर्फ राष्ट्रिय च्याम्पियन धामीले रिभाईभ लिजर पार्कका विश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई २१–१५, १२–२१, २१–१२ को अन्तरमा पराजित गर्दै उपाधि उचाले। पुलिसका जीवन आचार्य र विष्णु कटुवाल रहे । सेमिफाइनलमा जीवन दिपेशसँग र विष्णु प्रिन्सुसँग पराजित भएका थिए।
भक्तपुर जिल्ला व्याडमिन्टन संघको आयोजनामा भएको च्याम्पियनसिपको महिला एकलको उपाधि सेनाकी रशिलाले जतिन् । विश्व जुनियर युगलतर्फ उच्च ७ मा रहेकी उनले सेनाकै अनुमाया राईलाई २१–९, २१–१९ ले पराजित गरिन्। सेनाकै अमिता गिरी र पुलिसकी निता लम्साल तेस्रो भए।
नेपाल ब्याडमिन्टन संघको तत्वावधानमा भएको च्याम्पियनसिपको पुरुष युगल तर्फ सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले बाजी मारे । उक्त जोडीले कास्कीका भुगोल गुरुङ्ग र बिधान अधिकारीको जोडीलाई २१–१७, २१–१३ ले पराजित गर्दै उपाधि जिते।
लिवालिस्थित कभर्डहलमा यु १५ छात्रा एकलतर्फ बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राईले काठमाडौं व्याडमिन्टन एकेडेमीकी एञ्जेल लिम्बुलाई २१–१४, २१–१४ को समान अन्तरले पराजित गर्दै स्वर्ण हात पारिन् ।
सोही विधाको छात्र एकलतर्फको उपाधि सिल्क ग्रुपका कवीर केसीले जित् । उनले एनआरएनका शाहिल चन्दलाई २१–१५, २१–६ ले हराए। यस्तै, मास्टर्स युगल ४५ तर्फ कास्कीका नरबहादुर गुरुङ र शम्भु श्रेष्ठको जोडीले उपाधि जिते।
विजयी खेलाडीहरुलाई सांसद प्रेम सुवाल, नेपाल व्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपमेयर रजनी जोशी लगायतले पुरस्कार वितरण गरे। करिब १७ लाख रुपैयाँ लागत रहेको च्याम्पियनसिपमा यु–१५ पुरुष÷महिला सिंगल्समा शीर्ष स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।
पुरुष÷महिला सिंगल्सका विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेश्रोले १२ हजार ५ सयका दरले नगद पुरस्कार हात पारे । भेट्रान ४५ वर्षमाथि डबल्स र पुरुष डबल्समा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रोले ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । चारदिने च्याम्पियनसिपमा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली (आर्मी/प्रहरी/एपीएफ)का २ सय खेलाडीको सहभागिता थियो ।