३१ वर्षमै किन लिए हाजार्डले सन्न्यास ?

सामान्यतः फुटबलर फुबटल खेल्ने औसत उमेर ३५ वर्ष मानिन्छ। कतारमा जारी विश्वकपमा ३५ या त्यो माथिका थुप्रै खेलाडी छन्, जो उच्चस्तरको फुटबल खेलिरहेका छन्।

जसको उदाहारणका रुपमा लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, लुका मोड्रिच, पेपे, थिएगो सिल्भा, ड्यानी अल्भेसलगायतलाई लिन सकिन्छ। यीमध्ये पनि ड्यानी अल्भेस र पेपे त चार दशक पुग्न लागिसके छ।

तर, बेल्जियन स्टार इडेन हाजार्डले भने ३१ वर्षकै उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। बेल्जियम विश्वकपको समूह रचणबाटै बाहिरिएको केही दिनपछि नै हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन्।

बुधबार उनले समाजिक सञ्जानमार्फत् अन्तर्राष्ट्रिय फुटबलबाट टाढिने घोषणा गरे। पछिल्लो केही सिजन यता चोटका कारण फर्म गुमाएका हाजार्डले सन्न्यासको घोषणा गर्दै जीवनको एक पान पल्टाएको उल्लेख गरेका छन्।

बेल्जियम समूह अन्तिम खेलमा क्रोएसियासँग बराबरीमा रोकिएलगत्तै हाजार्डले सन्न्यासका विषयमा टिमका साथीहरुसँग कुरा गरेको बताइएको छ। उनले बेल्जियम टिम हाँक्न अर्को पुस्ता तयार भइसकेकाले टिम छाड्ने घोषणा गरेको बताएका छन्।

‘म जीवनको एक पन्ना पल्टाउँदैछु । तपाईंहरुको अद्वितीय समर्थनका लागि धन्यवाद । सन् २००८ यता हामीले बाँडेका सबै आनन्ददायी क्षणका लागि धन्यवाद । म आज अन्तर्राष्ट्रिय फुटबलरका रुपमा करिअर अन्त्य गर्दैछु । अर्को पुस्ता तयार भइसकेको छ,’ रियल मड्रिडका स्टार हाजार्डले लेखेका छन्।

बेल्जियमको गोल्डेन जेनेरेशनको नेतृत्व गरेका हाजार्डले १७ वर्षकै उमेरमा सन् २००८ मा राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए । उनले बेल्जियमका लागि १२६ खेलमा ३३ गोल र ३६ असिस्ट गरेका छन्।