ओलम्पिक स्वर्णमा थोम्पसनको ह्याट्रिक

टोक्योमा जारी ओलम्पिकमा जमैकन धाविका एलेन थोम्पसन–हेराहले टोकियो ओलम्पिक २०२० को स्प्रिन्टका तीनै विधामा स्वर्ण पदक जितेकी छन् ।

थोम्पसनसहित ब्रियना विलियम्स, सेली–आन फ्रेजर–प्राइस र सेरिका ज्याक्सनको टिमले जमैकालाई शुक्रबार ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेपछि थोम्पसनले ओलम्पिकमा महिला स्प्रिन्टका तीनै विधामा सफलता हात पार्दै स्वर्णमा ह्याट्रिक पूरा गरिन् ।

थोम्पसनले ओलम्पिक रंगशालामा गत शनिबार १०० मिटरमा ३३ वर्ष पुरानो ओलम्पिक रेकर्ड भंग गर्दै १०।६१ सेकेन्डसहित स्वर्ण जितेकी थिइन् । उनले २०० मिटर दौडको उपाधि मंगलबार हात पारेकी थिइन् ।

पाँच वर्षअघि रियोमा भएको ३१ औं संस्करणमा पनि यी दुवै स्पर्धा जितेकी उनी ओलम्पिकमा यस्तो सफलता दोहोर्‍याउने पहिलो महिला हुन् । पुरुषतर्फ १०० र २०० मिटरको उपाधिमा जमैकाका उसेन बोल्टले यो उपलब्धि पूरा गरेका छन् ।

चार गुणा १०० मिटर रिलेमा शुक्रबारको सफलतासँगै जमैकाले महिलातर्फ स्प्रिन्टका तीनै स्वर्ण जित्दै ‘क्लिन स्विप’ गर्‍यो । यससँगै थोम्पसन–हेराह ओलम्पिकको स्प्रिन्टमा स्वर्णको पहिलो ह्याट्रिककर्ता भइन् ।

Facebook Comments Box