जापानको टोक्योमा जारी ओलम्पिकमा म्याराथनको पुरुष तर्फको स्वर्ण केन्याका धावक एलिउड किपचोगेले जितेका छन्।
ओलम्पिकको अन्तिम दिन आइतबार बिहान भएको पुरुष म्याराथनमा निर्धारित दुरी २ घण्टा ८ मिनेट ३८ सेकेन्टमा पुरा गर्दै किपचोगेले लगातार दोस्रो स्वर्ण जितेका हुन् । यसअघि उनले रियो ओलम्पिकमा पनि स्वर्ण जितेका थिए।
३६ वर्षीय किपचोगे ओलम्पिक म्याराथनमा एकभन्दा धेरै स्वर्ण पदक जित्ने तेस्रो खेलाडी बनेका छन् । नेदरल्याण्ड्सका अब्दी नागियेले दुई घण्टा ९ मिनेट ५८ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै रजत जिते भने बेल्जियमका बसिर अब्दीले २ घण्टा १० मिनेटमा दूरी पूरा गरेर कास्य जिते ।
यसैगरी ओलम्पिकको महिला म्याराथनमा केन्याकी पेरेज जेपचिरचिरले स्वर्ण पदक जितेकी छन् । टोकियोको प्रचण्ड गर्मीबीच शनिबार उनले २ घण्टा २७ मिनेट २० सेकेन्डको टाइमिङ निकालिन् ।