इंग्लिस क्लब चेल्सीका इटालियन डिफेन्डर इमर्सन पाल्मेरी फ्रेन्च क्लब लियोनमा आबद्ध भएका छन्। सन् २०१८मा रोमाबाट चेल्सी आएका इमर्सन त्यहाँ पर्याप्त अवसर नपाएपछि लोनमा लियोन पुगेका हुन्।
२७ वर्षीय लेफ्ट ब्याक इमर्सन चेल्सीबाट पर्याप्त अवसर नपाए पनि युरोकपमा भने इटालीका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। इमर्सनले चेल्सीबाट ७१ खेल खेल्दै २ गोल गरेका छन्।
ब्राजिलमा जन्मिएका इमर्सनले उमेर समूहको खेल ब्राजिलकै राष्ट्रिय टिमबाट खेलेका थिए । त्यसपछि उनी ब्राजिल त्याग्दै इटाली आएका थिए।
इमर्सनले ब्राजिलकै क्लब सान्तोषबाट क्लब फुटबल सुरु गरेका थिए । त्यहाँ उनले ४ सिजन बिताउँदा ३३ खेल खेल्दै ४ गोल गरेका थिए ।
सन् २०१४ मा लोनमा एक सिजन पालेर्मोमा बिताएपछि उनी सन् २०१५मा रोमामा आबद्ध भएका थिए । त्यहाँ उनले ३ सिजन बिताउँदा ४७ खेल खेल्दै २ गोल गरेका थिए।