घरेलु मैदानमा भ्रमणकारी टिम भारतविरुद्ध दुवै टेस्टमा खराब ब्याटिङ प्रदर्शन गरेपछि इंग्लिस टिममा अहिले अलराउन्डर बेन स्टोक्सको पुनरागमनको चर्चा चल्न थालेको छ ।
भारतविरुद्धको पहिलो टेस्टमा खराब प्रदर्शन गरेपछि वर्षका कारण खेल बराबरीमा सकिएको थियो भने दोस्रो टेस्टमा इंग्ल्यान्ड १५१ रनले पराजित भएको थियो। दुवै टेस्टमा कप्तान जो रुटबाहेक सबै ब्याट्सम्यनले खराब प्रदर्शन गरेका थिए।
३० वर्षीय अलराउन्डर स्टोक्सले गत महिनामात्र मानसिक रुपमा थकित भएको भन्दै अनिश्चितकालका लागि क्रिकेटबाट विदा लिएका थिए । स्टोक्सले पाकिस्तानविरुद्धको एकदिवसीय सिरिज पछि यस्तो निर्णय लिएका थिए।
इंग्लिस टिमको खराब प्रदर्शन स्टोक्सको पुनरागमनको चर्चा चलेपनि इंग्ल्यान्डका मुख्य प्रशिक्षक क्रिस सिल्वरउडले स्टोक्सलाई टिममा फिर्ता ल्याउन दबाब नदिने बताएका छन्। उनले मानसिक रुपमा स्वस्थ हुन स्टोक्ले चाहेजति समय पाउने बताए।
‘हामी स्टोक्सलाई टिममा फर्कनका लागि भन्ने छैनौं । यस्तो अवस्थामा तपाईं कसैलाई पनि दबाब दिन सक्नुहुन्न । जबसम्म उनी आफैं आएर म खेल्नका लागि तयार छु भन्दैनन् तबसम्म हामी उनको आगमनको प्रतिक्षा गर्छौं,’ प्रशिक्षक सिल्वरउडले भने।
इंग्लिस टिमका कप्तान जो रुटले पनि भारतविरुद्धको पाँच खेलको टेस्ट सिरिज सुरु हुनुअघि यस्तै धारण राखेका थिए। रुटको भनाईको समर्थन गर्दै प्रशिक्षक सिल्वरउडले मानसिक स्वास्थ्य जस्तो सम्वेदनशील कुरामा कसैलाई पनि दबाब दिन नसकिने बताए।
‘यसमा कुनै समयसीमा हुँदैन । म फेरि पनि भन्छु, हाम्रो लागि स्टोक्स र उनको परिवार स्वस्थ महत्वपूर्ण कुरा हो, ताकि उनले सनदार पुनरागमन गर्न सकुन,’ प्रशिक्षक सिल्वरउडले भने, ‘हाम्रा लागि त्यस स्थितिमा पुग्न महत्वपूर्ण छ, जहाँ उनी पुनः खेल्न र टिमका लागि राम्रो प्रदर्शन गर्नका लागि आफैं मानसिक रुपमा आफूले तयार ठान्छन्।’
५ खेलको टेस्ट सिरिजमा १–०ले पछि परेको इंग्ल्यान्डले तेस्रो टेस्टका लागि आजै टिम घोषणा गर्ने सम्भावना छ । तेस्रो टेस्टमा फास्ट बलर मार्क उड नहुने सम्भावना प्रवल छ। उनी दोस्रो टेस्टमा फिल्डिङका क्रममा घाइते भएका थिए। भारत र इंग्ल्यान्डबीचको तेस्रो टेस्ट लिड्समा अगस्त २५बाट सुरु हुने छ।