युएई र ओमानमा जारी टि–२० विश्वकपमा आजबाट सेमिफाइनलका खेल सुरु हुँदै छ। अबुधाबीमा हुने पहिलो सेमिफाइनलमा इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै छन्। खेल नेपाली समय अनुसार बलुका ७ ः ४५ बजे सुरु हुनेछ ।
इंग्लयान्ड सुपर १२ मा समूह १ को विजेताका रुपमा सेमिफाइनल पुगेको हो भने न्युजिल्यान्ड समूह २ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो। खेल जित्दै इंल्यान्ड लगातार दोस्रो पटक फाइनल पुग्न चाहन्छ भने न्युजिल्यान्ड पटक फाइलन पुग्ने योजनामा छ।
दुवै टोलीले सुपर १२ मा पाँच खेलमध्ये ४ खेल जितेका थिए भने एक खेलमा हार बेहोरेका थिए । इंग्ल्यान्डले वेष्टइन्डिज, बंगलादेश, अष्ट्रेलिया र श्रीलंकालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग अन्तिम खेलमा पराजित भएको थियो । यता, पाकिस्तानसँग हार बेहोर्दै प्रतियोगिताको सुरुआत गरेको न्युजिल्यान्डले त्यसपछि लगातार भारत, नामिबिया, स्कटल्याण्ड र अफगानिस्तानलाई पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको हो ।
दुवै टोलीले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । इंग्ल्यान्डका लागि ब्याटर जोस बटलर र बलर क्रिस जोर्डनले उत्कृष्ट प्रदर्शन गर्दा न्युजिल्याण्डका लागि मार्टिन गप्टिल र ट्रेन्ट बोल्डले उत्कृष्ट प्रदर्शन गरेका छन् । इंग्ल्यान्डलाई ओपनर जेसन रोएको चोटले भने केही समस्या हुन सक्छ। रोएको स्थानमा इंग्लिस टिममा जेम्स भिन्स आएका छन्।
सन् २०१० को च्याम्पियन इंग्लयाण्ड तेस्रो पटक फाइनल पुग्ने लक्ष्यमा छ । पछिल्लो पटक २०१६ मा भएको टी–२० विश्वकप फाइनलमा भने इंग्ल्याण्ड वेष्ट इन्डिजसँग पराजित भएको थियो ।
उता, न्युजिल्याण्ड भने तेस्रो पटक सेमिफाइनल खेल्दैछ । न्युजिल्याण्डले पहिलो र छैटौं संस्करणको सेमिफाइनल खेले पनि फाइनल पुग्न सकेको छैन । पछिल्लो पटक २०१६ मा न्युजिल्याण्ड सेमिफाइनलमा इंग्ल्याण्डसँग नै पराजित भएको थियो ।