विश्वकप विजेता इंग्लिस क्रिकेट टिमका कप्तान इओन मोर्गनले सोमबार सबै खाले क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन्। सोमबार एक वक्तव्य निकाल्दै ३६ वर्षीय मोर्गनले क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन्।
डब्लिनमा जन्मेका ३६ वर्षीय मोर्गनले जुनमा अन्तर्राष्ट्रिय त्रिकेट नखेल्ने जनाएका थिए । उनकै नेतृत्वमा इंग्ल्यान्डले सन् २०१९ को वान डे विश्वकप जितेको थियो ।
अन्तर्राष्ट्रिय करिअर अन्त्य गरेयता उनले लण्डन स्पिरिट टिमबाट द हन्ड्रेड र पर्ल रोयल्स टिमका लागि दक्षिण अफ्रिका टी–२० लिग खेलेका थिए ।
यस्तै उनी कप्तान रहेकै बेला इंग्ल्यान्ड वान डे र टि–२० दुवै क्रिकेटको शीर्ष वरीयतामा पुगेको थियो ।
सन्न्यासको घोषणा गर्दै मोर्गनले धेरै सोचविचार पनि आफू आफ्नो खेल जीवनमा पूर्णविराम लगाउने निर्णयमा पुगेको बताएका छन् । ‘गर्वका साथ क्रिकेटका सबै प्रारुपबाट सन्यासको घोषणा गरेको छु । धेरै सोच विचार गरेपछि मैले सक्रिय क्रिकेटबाट टाढा रहने निर्णय गरे । यति लामो समयमा मैले क्रिकेटबाट सबैकुरा पाएको छु,’ मोर्गनले भनेका छन् ।
उनी वान डे क्रिकेटमा इंग्ल्यान्डका लागि सर्वाधिक ६ हजार ९ सय ५७ रन बनाउन खेलाडी हुन् । उनले आफ्नो खेल जीवनको सुरुमा आयरल्यान्डका लागि पनि खेलेका थिए ।