एभरेस्ट प्रिमियर लिग (एपिएल) ले २०२१ को आगामी संस्करणका लागि नेपाली खेलाडीको तलब बढाएको छ। इपिएलमा सहभागी हुने सबै घरेलु खेलाडीको तलब २० प्रतिशतले बढाइएको इपिएलले जनाएको छ।
कोरोनाभाइरस महामारीका कारण खेलाडीहरुले सामना गर्नुपरेको आर्थिक चुनौतीलाई मध्यनजर गर्दै तलब बढाउने निर्ण गरेको इपिएलले जनाएको छ। लिग व्यवस्थापन र फ्रेन्चाइज टिमबीचको छलफल पछि तलब बढाउने निर्णय गरिएको हो।
‘कोभिड–१९ महामारीका कारण खेलाडीहरुले कुनै प्रतियोगिता खेल्न पाएका छैनन्। प्रतियोगिता आयोजना नहुँदा उनीहरुको दीगो आम्दानीको बाटो हराएको छ। त्यसैले हामीले यो वर्ष नेपाली खेलाडीको तलब बढाउने निर्णय गरेका हौं,’ चितवन टाइगर्सका मालिक किशोर भट्टराईले बताए।
‘प्रतियोगिताको समष्टिगत लक्ष्य सधैं खेल र सरोकारवालाहरुको समग्र विकास नै थियो। खेलाडीको तलब बढाउने हाम्रो निर्णमा साथ दिनुभएका सबै फ्रेन्चाइजहरुलाई धन्यवाद दिन चाहन्छौं,’ इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले भने।
नेपाल क्रिकेट संघ (क्यान)ले इपिएलको यो कदमको सह्राना गरेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अनुकरणीय कार्य भएको भन्दै प्रशंसा गरेका हुन्। उनले क्रिकेटमा निजी क्षेत्रको साथ र सहयोगले नेपाली क्रिकेटको विकासमा ठूलो टेवा पुग्ने विश्वास पनि व्यक्त गरे।