वेस्ट ह्याम र क्रिस्टल प्यालेसबीच रोमाञ्चक बराबरी, एभर्टन विजयी

इंग्लिस प्रिमियर लिगमा वेस्टह्याम युनाइटेड र क्रिस्टल प्यालेसले रोमाञ्चक खेलमा अंक बाँडेका छन्। वेस्टह्यामको घरेलु मैदानमा भएको दुई लण्डन क्लबबीचको खेल २–२ गोलको बराबरीमा सकिएको हो।

खेलमा सुरुवाती अग्रता वेस्टह्यामले लिएको थियो। पाब्लो फोर्नाल्सको गोलमा घरेलु टिमले अग्रता लिन सफल भयो। तर, कोनर गालाघेरले ५८औं मिनेटमा गोल गर्दै प्यालेसलाई खेलमा फर्काए।

त्यसको १० मिनेट बित्न नपाउँदै वेस्टह्यामले दोस्रोपटक खेलमा अग्रता लियो। मिखाइल एन्टोनियोको गोलमा वेस्टह्यामले अग्रता कायम गरेको थियो। त्यसको दुई मिनेटपनि नबित्तै गालाघेरले दोस्रो गोल पनि गरे। उनले ७०औं मिनेटमा बराबरी गोल फर्काएका थिए।

खेलको बाँकी समयमा दुवै पक्षले निकै प्रयास गर्दा पनि थप गोल नभएपछि लण्डन डर्बीमा अंक बाँडिएको थियो।

न्यूक्यासल भर्सेस साउथह्याम्पटन

न्यूक्यासल युनाइटेड र साउथह्याम्पटनबीचको खेलपनि २–२ गोलको बराबरीमा सकिएको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा भने दुवै टिमले गोलको वर्षा गरेका थिए।

५५औं मिनेटमा क्यालम विल्सनले गोल गर्दै घरेलु टिम न्यूक्यासललाई अग्रता दिलाएका थिए। तर, मोहम्मद इलिओनुसीले ७४औं मिनेटमा साउथह्याम्पटनका लागि बराबरी गोल फर्काए।

खेल बराबरीतर्फ अग्रसर भइरहँदा एलान सेन्ट–म्याक्सिमिनले ९०औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई जितको संकेत दिलाएका थिए। तर, इन्जुरी टिमको अन्तिम मिनेटमा साउथह्याम्पटनले पेनाल्टी पाएपछि खेलले फरक मोड लिएको हो।

जेम्स वार्ड प्राउजले ९६औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै हारिसकेको खेलमा साउथह्याम्पटनलाई एक अंक दिलाउन सफल भए।

ब्राइटन भर्सेस एभर्टन

एभर्टनले ब्राइटनलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ। खेलमा उत्कृष्ट बल पोजेसनसहित डोमिनेटिङ फुटबल खेलेपनि सिर्जित अवसरलाई सदुपयोग गर्न नसक्दा ब्राइटन आफ्नै घरेलु मैदानमा पराजित हुन पुगेको हो।

एभर्टनका लागि डेमाराई ग्रेले पहिलो गोल गरेका थिए। ४१औं मिनेटमा गोल गर्दै ग्रेले पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन्।

यस्तै, पछिल्लो समय उत्कृष्ट फर्ममा रहेका डोमिनिक काल्भर्ट–लेविनले दोस्रो गोल गरेका थिए। डिबक्समा भएको घम्साभम्सीपछि प्राप्त पेनाल्टीको सदुपयोग गर्दै उनले ५८औं मिनेटमा एभर्टनको अग्रता दोब्बर बनाएका थिए।