युरोपका विभिन्न ११ सहरमा आयोजना भइरहेको युरोकप २०२० को क्वार्टरफाइनल समिकरण पुरा भएको छ। अन्तिम १६ का रोमाञ्चक नकआउट खेलहरु सकिएसँगै क्वार्टरफाइनल खेल्ने टिमहरु टुंगो लागेका हुन्।
युरोकपको प्रिक्वार्टरफाइनलमा हरेक खेल रोमाञ्चक रहे भने केही अप्रत्यासित नतिजाहरु पनि आएका छन्। दाबेदार मानिएका केही देशहरु अन्तिम १६ बाटै घर फर्किंदा कमजोर आँकिएका केही टिमले शानदार जीतसहित क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गर्न सफल भए।
क्वार्टरफाइनल–१ः स्विट्जरल्यान्ड भर्सेस स्पेन
सेमिफाइनल प्रवेशका लागि पहिलो क्वार्टरफाइनलमा दाबेदार स्पेन र प्रिक्वार्टरफाइनलमा सबैभन्दा अप्रत्यासित नतिजा निकाल्न सफल टिम स्विट्जरल्यान्ड भिँड्ने भएका छन्।
स्विट्वजरल्यान्डले स्पेनसँगको भिडन्त पक्का गर्ने क्रममा विश्वकप विजेता फ्रान्सलाई पराजित गरेको थियो। युरोकपको सबैभन्दा प्रबल दाबेदारका रुपमा हेरिएको फ्रान्स निर्धारित समयमा स्विट्जरल्यान्डसँग ३–३ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमार्फत् विजेताको टुंगो लागेको थियो।

पेनाल्टी सुटआउटमा ५–४ ले विजयी हुँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनल प्रवेश गरेको हो। टाइब्रेकरमा स्विट्जरल्यान्डका सबै खेलाडीले गोल गर्दा फ्रान्सका युवा फरवार्ड किलियन एम्बाप्पेले प्रहार गरेको पेनाल्टी गोलकिपरले रोकेपछि फ्रान्स पहिलो नकआउट खेल हार्दै घर फर्किएको थियो।
स्पेनले पनि रोमाञ्चक खेलमा विश्वकप २०१८ को अर्को फाइनलिस्ट टिम क्रोएसियालाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो। सनसनीपूर्ण खेलको निर्धारित ९० मिनेट ३–३ गोलको बराबरीमा सकिएपछि खेल एक्स्ट्रा टाइममा पुगेको थियो। एक्स्ट्रा टाइममा स्पेनले दुई गोल थप्दै ५–३ को जित निकालेको थियो।
स्पेन र स्विट्जरल्यान्डबीचको खेल शुक्रबार राती ९ः४५ बजे रुसको सेन्ट पिटर्सबर्गस्थित सेन्ट पिटर्सबर्ग स्टेडियममा हुनेछ।
क्वार्टरफाइनल–२ः बेल्जियम भर्सेस इटाली
जारी युरोकपको क्वार्टरफाइनलको सबैभन्दा ठूलो भिडन्तमा दुई दाबेदार टिम बेल्जियम र इटाली भिँड्दै छन्। विश्वको नम्बर १ टिम बेल्जियम र पछिल्ला ३१ खेलमा अपराजित इटालीबीचको खेल युरोकपको सबैभन्दा ठूलो फिक्स्चरमध्येको एक हो।
बेल्जियमले डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो। थोर्गन हजार्डको गोलको मद्दतमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई १–० ले पराजित गर्दै बेल्जियम अन्तिम ८ मा प्रवेश गरेको हो।

यस्तै, इटालीले अष्ट्रियाको चुनौती पाखा लगाउँदै अन्तिम ८ मा आफ्नो स्थान पक्का गरेको थियो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि एक्स्ट्रा टाइममा इटालीले अष्ट्रियालाई २–१ ले पराजित गरेको थियो।
बेल्जियम र इटाली सेमिफाइनल प्रवेशका लागि शुक्रबार राती १२ः४५ बजे जर्मनीको म्युनिखस्थित फुटबल एरेना म्युनिखमा आमनेसामने हुँदैछन्।
क्वार्टरफाइनल–३ः चेक रिपब्लिक भर्सेस डेनमार्क
जारी युरोकपको अप्रत्यासित समीकरणमध्ये चेक रिपब्लिक र डेनमार्कको खेल पनि पर्छ। चेक रिपब्लिकले दाबेदार टिमलाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो भने डेनमार्कले जारी युरोकपकै फराकिलो जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको थियो।
चेक रिपब्लिकले दाबेदार नेदरल्यान्ड्सलाई २–० ले स्तब्ध बनाएको थियो। म्याथिस डि लाइटले रातो कार्ड पाएको खेलमा चेकको फास्ट अट्याकिङ गेमका अघि नेदरल्यान्ड्स निरिह साबित भएको थियो।

यस्तै, डेनमार्कले ग्यारेथ बेलको वेल्सविरुद्ध ४–० को शानदार जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गरेको हो। जारी युरोकपमा ४–० को नतिजा नै सबैभन्दा फराकिलो अन्तर रहेको छ। दुईपटक ४–० को नतिजा निस्किँदा दुवै नतिजा डेनमार्कले हात पारेको थियो।
डेनमार्क र चेक शनिबार राती ९ः४५ बजे बाकुस्थित बाकु ओलम्पिक स्टेडियममा भिँड्नेछन्।
क्वार्टरफाइनल–४ः युक्रेन भर्सेस इंग्ल्यान्ड
सेमिफाइनल समिकरण पूरा गर्ने क्रममा अन्तिम क्वार्टरफाइनलमा इंग्ल्यान्ड र युक्रेनले आपसमा भिडन्त पक्का गरेका छन्।
युरोकपको सदाबहार दाबेदार टिम इंग्ल्यान्डले प्रतियोगिताको सर्वाधिक सफल टिम जर्मनको चुनौती पाखा लगाउँदै क्वार्टरफाइनल प्रवेश गरेको हो। जर्मनीलाई २–० को गोलअन्तरले पाखा लगाउँदै इंग्ल्यान्डले युरोकपमा आफ्नो दाबेदारी थप सशक्त रुपमा प्रस्तुत गरेको छ।

युक्रेन भने स्विडेनलाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो। निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल एक्स्ट्रा टाइममा पुगेको थियो। एक्स्ट्रा टाइमको अन्तिम मिनेटमा गोल गर्दै युक्रेनले क्वार्टरफाइनल प्रवेश निश्चित गरेको हो।
युक्रेन र इंग्ल्यान्डबीच सेमिफाइनल प्रवेशका लागि शनिबार राति १२ः४५ बजे इटालीको रोमस्थित स्टेडियो ओलम्पिकोमा भिडन्त हुनेछ।