बटलरको शतकमा इंग्ल्यान्ड सेमिफाइनल नजिक

काठमाडौं । आईसीसी टि–२० विश्वकपमा लगातार चौथो जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनल नजिक पुगेको छ। जोस बटलरको शतकको मद्दतमा सोमबार राति यूएईको सारजाहमा भएको खेलमा श्रीलंकालाई २६ रनले पराजित गर्दै इंग्ल्यान्ड १ खेल बाँकी छँदै सेमिफाइनल नजिक पुगेको हो।

इंग्ल्यान्डले दिएको १६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा अलआउट हुँदै १३७ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि वाविन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ३४ रन बनाए । कप्तान दासुन शनका र भानुका राजपाक्षेले समान २६ रन जोडे ।

इंग्ल्यान्डका आदील राशिद, मोइन अली र क्रिस जोर्डनले दुईरदुई विकेट लिए । लियम लिभिङस्टोन र क्रिस वोक्सले एकरएक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा चार विकेट गुमाएर १६३ रन बनाएको थियो । १० ओभरमा तीन विकेट गुमाएर ४७ रन मात्रै जोडेको इंग्ल्याण्डले बाँकी १० ओभरमा ११६ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि ओपनर जोस बट्लरले अविजित रहँदै १०१ रन बनाए । जारी विश्वकपमा शतक बनाउने पहिलो खेलाडी समेत बनेका बटलरले ६७ बल खेल्दै ६ चौका र ६ छक्का प्रहार गरे । यस्तै कप्तान इयान मोर्गनले ४० रन बनाए ।

चौथो विकेटका लागि बटलर र मोर्गनले ११२ रनको साझेदारी गरेका थिए । श्रीलंकाका वाविन्दु हसरंगाले तीन विकेट लिए ।

सुपर १२ मा चार जितपछि इंगल्याण्डको सेमिफाइनलमा स्थानसमेत लगभग पक्का भएको छ । चार खेलबाट इंग्ल्याण्डको ८ अंक छ । यो समूहमा तीन खेल खेलेको दक्षिण अफ्रिका ४ अंकसहित दोस्रो स्थानमा छ ।