५ वर्षपछि क्याटलान क्लब फर्किएका ब्राजिलियन भेट्रान डिफेन्डर डानी अल्भेसले ८ नम्बरको जर्सी लगाउने भएका छन्। दुई दिनअघि मात्र फ्रि ट्रान्सफरमा बार्सिलोना आएका अल्भेसलाई बुधबार क्लबले लिजेन्डर ८ नम्बरको जर्सी दिएको हो।
समर ट्रान्सफरमा मिरालेम पियानिच लोनमा टर्किस क्लब बेसिकटास पुगेपछि बार्सिलोनामा ८ नम्बरको जर्सी खाली थियो। सोही जर्सी बार्सिलोनाले अल्भेसलाई दिएको हो।
यसअघि उनले बार्सिलोनमा २, ६, २० र २२ नम्बरको जर्सी लगाएका थिए । बार्सिलोनामा ८ नम्बरको जर्सी लगाउने अल्भेस पाँचौं खेलाडी हुन्।
बार्सिलोनाले क्लबकै पुर्वखेलाडी जाभी हर्नान्डेजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि ३८ वर्षीय अल्भेसको बार्सिलोना फर्कने सपना साकार भएको हो ।
बार्सिलोनाको इतिहासमा उनलाई सबैभन्दा सफल राइट ब्याकको रुपमा हेरिन्छ । अल्भेसले बार्सिलोना छाडेपछि उनको विकल्पमा बार्सिलोनाले थुप्रै खेलाडीलाई प्रयोग गरेपनि उनी जत्तिको खेलाडी पाउन सकेका छैनन् ।
अल्भेसले सन् २००८ मा स्पेनिस क्लब सेभियाबाट बार्सिलोना पुगेका थिए । उनले सन् २०१५–१६ को सिजनसम्म बार्सिलोनाबाट ३९१ खेलमा २१ गोल गर्दा २३ उपाधि जितेका थिए । उनी खेल करियरमा सर्वाधिक ४३ ट्रफी जित्ने खेलाडी हुन् ।
बार्सिलाना छाडेपछि उनले इटालियन क्लब युभेन्ट्समा एक सिजन खेलेका थिए । त्यसपछि उनले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० मा दुई सिजन बिताएका थिए । त्यसपछि उनी ब्राजिलीयन क्लब साओ पाउलो पुगेका थिए । यो सिजनको अन्त्यसँगै उनी क्लबविहीन बनेका थिए।
बार्सिलोनाको मुख्य प्रशिक्षकको रुपमा आफ्नो पहिलो कदममा आफ्नो पूर्व सहकर्मीलाई फिर्ता ल्याउनु जाभीको चाखलाग्दो निर्णय हो । आल्भेसमा अझैपनि उही गतिमा खेल्न सक्ने क्षमता र उपाधिको भोक छ ।
टोकियो ओलम्पिकमा ब्राजिलले स्वर्णपदक जित्दा टोलीका सदस्य रहेका आल्भेसको चाहना अर्को वर्ष कतारमा आयोजना हुने विश्वकप खेल्ने रहेको छ । उनी प्रशिक्षक टिटेको टोलीमा पर्ने लक्ष्यमा छन्।