यसैवर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को ‘ड्र’ आज हुँदैछ। विश्वकपको ‘ड्र’ नेपाली समयअनुसार आज राति ९ः४५ बजे सुरु हुनेछ।
विश्वकपमा छनोट भएका टिमहरू ८ समूहमा बाँडिनेछन्। प्रतियोगिताको आयोजक समितिले स्वीकृत गरेको कार्यविधिले अन्तर्राष्ट्रिय खेलको समापनपछि मार्च ३१ मा जारी फिफा विश्व वरीयतामा आधारित रहेर खेलकुद सिद्धान्त अनुसार पोट १ देखि ४ सम्मका ३२ टोलीलाई बाँडफाँड गरिने छ।
कतार विश्वकपको लागि हालसम्म आयोजक कतारसहित २९ राष्ट्र छनोट भइसकेका छन्। छनोट हुनेमा आयोजक राष्ट्र कतार, जर्मनी, डेनमार्क, ब्राजिल, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्विया, इंग्ल्यान्ड, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स, अर्जेन्टिना, इरान, दक्षिण कोरिया, जापान, साउदी अरब, इक्वेडर, उरुग्वे, क्यानडा, घाना, सेनेगल, पोर्चुगल, पोल्यानड, ट्युनिसिया, मोरोक्को, क्यामरुन, अमेरिका र मेक्सिको रहेका छन्।
अब अन्तर्राष्ट्रिय प्ले अफबाट तीन टोलीले विश्वकपमा स्थान बनाउनेछ। विश्वकप खेल्ने ३२ टोलीमध्ये २८ टोलीलाई चारमध्ये एक पटमा राखिनेछ।
कतार आयोजक राष्ट्रका रुपमा शीर्ष वरियताका सातौसम्मको टोली रहने पट १ मा हुनेछ। यो पोटमा बेल्जियम, ब्राजिल, फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड, स्पेन र पोर्चुगल रहेका छन्।
८ देखि १५ औं स्थानको वरीयतामा रहेका टोली पट २ मा रहनेछन्। पट २ मा डेनमार्क, नेदरल्यान्ड्स, जर्मनी, मेक्सिको, अमेरिका, स्वीट्जरल्यान्ड, क्रोएसिया र उरुग्वे रहेका छन्।
त्यस्तै, १६ देखि २३ औं वरीयतामा रहेका टोलीहरु पोट ३ मा राखिनेछन्। पट ३ मा सेनेगल, इरान, जापान, मोरोक्को, सर्विया, पोल्यान्ड, दक्षिण कोरिया र ट्युनिसिया रहेका छन्।