ब्राजिल फुटबल संघलाई निलम्बन गर्ने फिफाको चेतावनी

26 Dec, 2023

विश्व फुटबलको नियमानकारी संस्था फिफाले ब्राजिल फुटबल संघलाई निलम्बन गर्ने चेतावनी दिएको छ।

फिफाले सरकारी निकायको हस्तक्षेप स्वीकार नगर्ने बताउँदै यदि जनवरीसम्मा पुरानै अवस्थामा नफर्किए राष्ट्रिय टोली र क्लबलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता नगराउने चेतावनी दिएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

पछिल्लो समय ब्राजिलको अदालतको हस्तक्षेपका कारण त्यहाँको फुटबल संघ भद्रगोल अवस्थामा पुगेको छ।

फिफाले ब्राजिलियन फुटबल कन्फेडेरेसन सीबीएफलाई पत्र लेख्दै एडनाल्डो रोड्रिग्वेजलाई अध्यक्षबाट हटाउन चुनाव गराउने हतार गरेमा निलम्बन गर्ने चेतावनी दिएको हो।

रियो दि जेनेरियोको एक अदालतले डिसेम्बर ७ मा रोड्रिग्वेज र उनका सबै नियुक्तिहरूलाई चुनावमा अनियमितता गरेको आरोपमा बर्खास्त गरेको थियो। उक्त निर्णयविरुद्ध रोड्रिग्वेज फेरि अदालत पुग्दा पुरानै निर्णय सदर भएको थियो।

फिफाले नयाँ नेतृत्व चयनका लागि हतार नगर्न पनि भनेको छ । फिफाले आफ्ना सदस्य संघहरूको काममा सरकार वा तेस्रो पक्षको हस्तक्षेप स्वीकार गर्दैन र त्यसैले समस्या समाधान नभएसम्म पाँच पटकको विश्वकप विजेता ब्राजिल निलम्बनमा पर्ने खतार हुन सक्छ।