फ्रान्सलाई विश्व च्याम्पियन बनाएका कप्तान ह्युगो लोरिसलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिहानै मादक पदार्थ सेवन गरी गाडी चलाएकाले लोरिसलाई लण्डन प्रहरीले पक्राउ गरेको हो ।
ब्रेथलाइजर टेस्टमा मापसे गरेको देखिएपछि उनलाई चेरिङ क्रस पुलिस स्टेसनमा प्रहरीले ७ घण्टा हिरासतमा राखेको थियो । अहिले लोरिस जमानतमा रिहा भएका छन् । तर, उनले सेप्टेम्बर ११ मा वेस्टमिनिस्टर मेजिस्ट्रेट्स अदालतमा सुनुवाइका लागि उपस्थित भने हुनुपर्नेछ ।
टोटेनह्यामले सोमबार राति ओल्ड ट्राफोर्डमा म्यान्चेस्टर युनाइटेडको सामना गर्दैछ । तर, मापसे गरेर जेल परेका कारण ३१ वर्षे कप्तान स्पर्सका म्यानेजर माउरियो पोचेटिनिको टोलीमा पर्लान नपर्लान हेर्न बाँकी छ । टोटेनह्याम आइतबार ओल्ड ट्राफोर्ड जानेछ ।