नेपाल एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा पराजित भएको छ। सोमबार ताजकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल इरानसँग ४–०ले पराजित भएको हो।
पहिलो हाफमा गोलरहित बराबरीमा रोकैको नेपालले दोस्रो हाफमा ४ गोल खाएको थियो। १७औं मिनेटमै इरानले गोलको सुन्दुर अवसर गुमाएको थियो । नेपालका अभिशेक लिम्बूले इरानी खेलाडीलाई डिबक्समा फाउल गरेपछि प्राप्त पेनाल्टीमा इरानका कप्तानले गोल गर्न सकेनन् । उनले पेनाल्टी बाहिर प्रहार गरेका थिए।
बलियो इरानले नेपालविरुद्ध ४७, ७७, ७९ र इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेको थियो।
समूह बीमा रहेको नेपालले दोस्रो खेल बिहीबार आयोजक ताजाकिस्तानको सामना गर्नेछ । नेपालले अन्तिम खेल आइतबार लेबनानसँग खेल्ने छ।
समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।