१२ वर्षपछि ब्राजिल च्याम्पियन

ब्राजिलले १२ वर्षपछि कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जितेको छ । यसअघि ब्राजिलले सन् २००७ मा अर्जेन्टिनालाई पराजित गर्दै उपाधि जितेको थियो । योसँगै ब्राजिलले घरेलु मैदानमा आयोजित सबै संस्करणको उपाधि जित्दै कीर्तिमान पनि कायम गरेको छ ।

आइतबार राति ब्राजिलस्थित माराकाना रंगशालामा भएको फाइलनमा पेरुलाई ३–१ ले पराजित गर्दै ब्राजिलले १२ वर्षपछि उपाधि जितेको हो । यो ब्राजिलको नवौं कोपा मेरिका उपाधि हो । ब्राजिलले सन् १९१९, १९२२, १९४९, १९८९, १९९७, १९९९, २००४, २००७ र २०१९ मा गरी ९ पटक उपाधि जितेको छ ।

कोपा अमेरिकाको सर्वाधिक सफल टिम उरुग्वे हो । उसले १५ पटक उपाधि जितेको छ भने अर्जेन्टिनाले १४ पटक उपाधि जितेको छ ।

आइतबार राति भएको खेलमा ब्राजिललाई जित दिलाउने क्रममा एभर्टन, ग्याब्रियल जेसुस र रिचार्लिसनले समान १ गोल गरे । यता, पेरुका पाउलो गुइरेरोले १ गोल गरे ।

ब्राजिलले खेलको सुरुवातमै अग्रता लियो । जेसुसको पासमा एभर्टनले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाए । ४४ औं मिनेटमा पेरुले गोल गर्दै खेललाई बराबरीमा ल्यायो । डिबक्समा ब्राजिलका थिएगो सिल्भाले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा गुइरेरोले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

तर, खेल बराबरीमा आएको ४ मिनेट नबित्दै ब्राजिलले पुनः अग्रता लियो । पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा अर्थुरको पासमा ग्याब्रियल जेसुसले गोल गोल गरेका थिए ।

पहिलो हाफमा २–१ को अग्रता लिएको ब्राजिल ७०औं मिनेटमा १० खेलाडीमा सीमित भयो । उसका स्ट्राइकर जेसुस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरएका थिए । त्यसपछि पनि खेलमा ब्राजिलले नै पडक बनायो ।

खेलको अन्तिम मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिलको जित निश्चित गरे । रिचार्लिसनले पेनाल्टीमा गोल गरेका थिए । डिबक्समा एभर्टनलाई लडाएपछि ब्राजिलले पेनाल्टी पाएको थियो ।

खेलमा ब्राजिलले ५५ प्रतिशत बल पोजेसन बनाएको थियो । उसले पेरुको पोस्टमा १२ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो । यता, पेरुले ७ सट प्रहार गरेकोमा २ सटमात्र टार्गेटमा थियो ।

अल्भेस उत्कृष्ट खेलाडी

ब्राजिललाई १२ वर्षपछि उपाधि दिलाउने उत्कृष्ट प्रदर्शन गरेका कप्तान ड्यानी अल्भेस प्रतियोगितको सर्वोत्कृष्ट खोलाडी घोषित भए । उनी कोपा अमेरिका अघिमात्र ब्राजिलको कप्तान बनेका थिए ।

यसैगरी ब्राजिलकै गोलरक्षक एलिन्सन उत्कृष्ट गोलकिपर बनेका छन् । प्रतियोगितमा उनले १ गोल मात्र खाएका थिए । त्यो पनि फाइलनमा । यस्तै, एभर्टन र पेरुका पाउलो गुइरोरो संयुक्त रुपमा सर्वाधिक गोलकर्ता बने दुवैले ३ गोल गरेका थिए । प्रतियोगिताको फेयर प्लेको उपाधि ब्राजिलले जितेको छ ।