स्पेनिस क्लब रियल मड्रिडका वेल्स स्टार ग्यारेथ बेल पूर्वक्लब टोटनह्याम फर्कने भएका छन् । पछिल्ला दुई सिजनदेखि रियलमा कमै अवसर पाएपछि बेल पूर्वक्लब टोटनह्याम फर्कन लागेका हुन्।
बेल शुक्रबार मेडिकलका लागि लन्डन आउने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। उनी १ वर्षका लागि लोनमा पूर्वक्लब आउन लागेका हुन् ।
बेल सात वर्षअघि टोटनह्यामबाट रियल मड्रिड गएका थिए। उनलाई रियलले ८५ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो। रियलले बेललाई अनुबन्धका लागि खर्चिएको रकम सो समयको विश्व किर्तिमानी थियो।
उनले विहिबार मड्रिडको ट्रेनिङ ग्राउन्डमा केही घण्टा बिताएका थिए। टोटनहमले वेल्सका कप्तानका लागि तलब र लोन गरेर २० मिलियन पाउण्ड खर्च गर्ने बताइएको छ ।
३१ वर्षीय बेलले रियल मड्रिडमा प्रतिसाता पाँच लाख तलब खान्छन्। रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानसँग बेलको राम्रो सम्बन्ध छैन। सोही कारण उनले पछिल्लो सिजन कमै समय मैदानमा बिताएका थिए।
बेलले रियलबाट २५१ खेल खेल्दै १०५ गोल गरेका छन् । उनले रियलबाट ४ च्याम्पियन्स लिग र दुई ला लिगासहित १३ उपाधि जितेका छन् ।