गर्गको उत्कृष्ट ब्याटिङमा हैदरावादले चेन्नईलाई हरायो

युएईमा जारी इन्डियन प्रिमियर लिग आईपिएलमा सनराईजर्स हैदरावादले लगतार दोस्रो जित हात पारेको छ । दुबईमा भएको खेलमा युवा ब्याट्सम्यान प्रियम गर्गले उत्कृष्ट ब्याटिङ गरेपछि हैदरावादले चेन्नई सुपर किंग्समाथि ७ रनको जित निकाल्यो ।

सुरुवाती दुई खेलमा पराजित भएको हैदरावादले त्यसपछि दुईमा जित निकाल्यो । सुरुवाती दुई खेलमा हैदरावाद रोयल च्यालेन्जर्स बैंग्लोरसँग १० रन र कोलकता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा उसले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको थियो ।

यता, तीन पटकको च्याम्पियन चेन्नईले लगातार तेस्रो हारको सामाना गरेको छ । सुरुवाती खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै प्रतियोगिताम सुखद् सुरुवात गरेको चेन्नई त्यसपछिमा लगतार तीन खेलमा पराजित भयो । उ राजस्थान रोयल्ससँग १६ र दिल्ली क्यापिटल्ससँग ४४ रनले पराजित भएको थियो ।

बिहीबार राति दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट मैदानमा भएको खेलमा हैदरावादले दिएको १६५ रनको लक्ष्य पछ्याएको चेन्नईले ५ विकेट गुमाउँदै १५७ रन मात्र बनाउन सक्यो । उसका रविन्द्र जडेजाले अर्धशतक बनाए पनि माथिल्लो क्रमले गतिलो योगदान दिन नसक्दा चेन्नई पराजित भयो ।

जडेजाले ३५ बलमा ५ चौका २ छक्का प्रहार गर्दै ५० रन बनाए । यस्तै, महेन्द्रसिंह धोनीले ३६ बलमा नटआउट ४७ रन बनाए भने फाफ डु प्लेसिसले २२ र साम करणले १५ रन बनाए । हैदरावादका टी नटराजनले २ तथा भुवनेश्वर कुमार र अब्दुल समदले १–१ विकेट लिए ।

यअसघि टस जितेर पहिला ब्याटिङ गरेको हैदरावादले दुई युवा ब्याट्सम्यान गर्ग र अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गरेपछि ५ विकेटको क्षतिमा १६४ रन बनायो । जोनी बेइस्टोलाई शुन्यमै गुमाएपछि दबाबमा परेको हैदरावादले सुस्त सुरुवात गरेको थियो ।

डेविड वार्नर २८, मनिष पाण्डे २९ र केन विलियम्सन ९ रन बनाए आउट भएपछि क्रिजमा आएका गर्ग र अभिषेकले चौथो विकेटका लागि ७७ रनको साझेदारी गर्दै हैदरावदको इनिङ उकासेका थिए । गर्गले २६ बलमा ६ चौका र १ छक्कको सहयोगमा नटआउट ५१ रन बनाए भने अभिषेकले २४ बलमा ३१ रन बनाए । चेन्नईका दीपक चहरले २ विकेट लिए ।

प्रतियोगिताअन्तर्गत शनिबार २ खेल हुने छन् । दिउँसो ३ः४५ बजे अबुधाबिमा हुने खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्न् छन् भने साँझ ७ः४५ मा सारजाहमा हुने खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सको सामना गर्ने छ ।