नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्सलाई नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)को टेक्निकल कमिटीले बिहीबार फिलिप्सलाई महिला टिमको प्रशिक्षकमा नियुक्त गरेको हो।
महिलाको एएफसी एसियन कप छनोट र साफ च्याम्पियनसिपसम्मको लागि एन्फाले फिलिप्सलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । यसअघि फिलिप्स प्राविधिक निर्देशनको रुपमा काम गरिरहेका थिए ।
गत वर्ष नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को फाइनलमा भारतसँग पराजित भएपछि मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजिनामा दिएपछि नेपाली महिला टिम प्रशिक्षकबिहीन छ।
अष्ट्रेलियन ग्यारीलाई एन्फाले ७६ साल कार्तिक १४ बाट प्राविधिक निर्देशनमा नियुक्त गरेको थियो । कोरोना महामारीका बीच घर फर्किएका उनी नयाँ सम्झौता लगत्तै गत महिना नेपाल आएका हुन् ।