ओलम्पिकमा गौरीका आज प्रतिस्पर्धा गर्दै

जापानको टोक्योमा जारी ओलम्पिक्स २०२० मा आज (बुधबार) नेपालीकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन्। उनले महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन्।

टोक्यो एक्वाटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट–१ मा रहेकी छिन्। उनको हिटमा नाइजेरिया, मान्टेनेग्रो र गुआमसहित कुल ४ जना खेलाडी छन्। उनको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

यो स्पर्धामा गौरिकाले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। २०१९ मा दक्षिण कोरियामा भएको फिना वल्ड च्याम्पियनसिपमा उनले ६०.६२ सेकेन्डमा दूरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। उनी यो स्पर्धामा १३औं सागकी स्वर्ण विजेता पनि हुन्।

ओलम्पिकमा नेपालका दुईजना पौडी खेलाडी सहभागी छन्। एलेक्स शाहले मंगलबार पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरिसकेका छन्। उनी आफ्नो हिटमा प्रथम हुँदै राष्टिय कीर्तिमान तोड्न सफल रहे। तर अर्को चरण पुग्न भने सकेनन्।

गौरिकाको खेल नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ।

Facebook Comments Box