गौरिकाको दुई राष्ट्रिय कीर्तिमान

पौडीबाज गौरिका सिंहले आइतबार सुरु भएको पौडी इभेन्टमा दबदबा राख्न सफल भएकी छिन् । पौडीको पहिलो दिन ‘सर्टकोर्स’ मा गौरिकाले दुईवटा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितिन् । उनले ८ सय मिटर फ्रिस्टायलमा ९ मिनेट ३९.२२ सेकेन्डमा नयाँ कीर्तिमान बनाइन् ।

त्यस्तै, ५० मिटर ब्याकस्ट्रोकमा नेपाल आर्मीबाट प्रतिस्पर्धा गरेकी गौरिकाले ३०.८५ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण हात पार्न सफल भइन् । उनले हिट्स र मेडलका लागि भएको दुवै प्रतिस्पर्धामा आफ्नो पुरानो कीर्तिमानमा सुधार गरेकी हुन् ।

२५ मिटर पौडी पोखरीको सर्टकोर्समा गौरिकाकै नाममा ३१.३१ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । उनले हिट्स चरणमा पुरानो कीर्तिमान सुधार गर्दै ३१.२२ सेकेन्डमा रेकर्ड बनाइन् । गौरिकाले आफ्ना प्रतिद्वन्द्वीलाई निकै पछि पार्दै पौडीमा एकपक्षीय दबदबा कायम गरेकी हुन् । गौरिकाले ३०.८५ सेकेन्डमा ५० मिटर ब्याकस्ट्रोक पूरा गरिन् । गौरिकाले समग्रमा १२ इभेन्टमा प्रतिस्पर्धा गर्दै छिन् ।

अमेरिकाको न्युयोर्कका गैरआवासीय नेपाली नाथनदोर्जे शेर्पाले नेपालगन्जमा भइरहेको आठौँ राष्ट्रिय खेलकुदमा दुईवटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पौडीतर्फ नाथनले आठ सय मिटर फ्रिस्टायल र २ सय मिटर बटरफ्लाईमा नयाँ कीर्तिमानसहित स्वर्ण जिते । ८ सय मिटर फ्रिस्टायलमा नाथनले ९ मिनेट १७ सेकेन्डमा पूरा गर्दै ‘सर्टकोर्स’ मा नयाँ कीर्तिमान बनाएका थिए ।

उनले २ सय मिटर बटरफ्लाई २ मिनेट १८.१० सेकेन्डमा पूरा गर्दै ‘सर्टकोर्स’ मा नयाँ कीर्तिमान बनाए । उनले नेपाल आर्मीका अनुभव सुब्बालाई पछि पार्दै स्वर्ण कब्जा गरे । हिट्समा नाथनले २ मिनेट २३.५० सेकेन्डमा दूरी पूरा गरेका थिए । ८ सय मिटरमा रजत जितेका एपिएफका नाथन हुसेनले पदक जित्न सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP