इन्डियन प्रिमियर लिग (आइपिएल)मा किंग्ग एलाभेल पञ्जावले विजयी सुरुवात गरेको । आइपिएलअन्तर्गत सोमबार भएको राजस्थान रोयल्सलाई १४ रनले पराजित गर्दै पञ्जावले विजयी सुरुवात गरेको हो ।
राजस्थानको घरेलु मैदानमा भएको खेलमा पहिलो ब्याटिङ गर्दै पञ्जावले दिएको १८५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १७० रन मात्र बनाउन सक्यो र १४ रनले पराजित भयो ।
राजस्थानका लागि जोश बट्लर सर्वाधिक ६९ रन बनाए । उनले ४३ बलमा १० चौका र २ छक्का प्रहार गरे । यस्तै संजु स्याम्सनले ३० र अजिंक्या रहानेले २७ रन जोडे । पञ्जावका साम कुरान, अंकित राजपुत र मुजित उर रहमानले २–२ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको पञ्जावले क्रिस गेलको विस्फोटक ब्याटिङको मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनायो ।
क्रिस गेलले सर्वाधिक ७९ तथा सरफराज खानले अविजित ४६ रनको योगदान दिए । गेलले ४७ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरेका भने युवा ब्याट्सम्यान सर्फराजले २९ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
राजस्थानका बेन स्ट्रोक्सले २ तथा धवल कुलकर्नी र कृष्णप्पा गौतमले १–१ विकेट लिए ।