काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्स ग्लोबल टी–२० लिगको प्लेअफमा पुगेको छ। मंगलबार राति भएको खेलमा ब्रैम्प्टन वुल्भ्सलाई ६ विकेटले पराजित गर्दै सर्रेले एक खेल अगावै प्लेअफमा स्थान पक्का गरेको हो।
पहिला ब्याटिङ गर्दै ब्रैम्प्टनले दिएको १२९ रनको लक्ष्य सर्रेले १८.४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। सर्रेको जितमा लिन्टन दासले ४५ बलमा ५९ रनको अर्धशतकीय इनिङ खेले । कप्तान ईफ्तिखार अहमदले अविजित ३८ रन बनाए।
ब्रैम्प्टनका टिम साउदी, लोगन भान विक, क्रिस ग्रिन र साहिद अहमद्जाइले समान १ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको ब्रैम्प्टनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२८ रन बनाएको थियो।
उसका लागि कोलिन डि ग्रान्डहोमले ३४ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन बनाए भने आरोन जोन्सन, मार्क च्याम्पम्यान र नितिश कुमारले समान १४ रनको योगदान दिए।
सर्रेका महमद खालिद, म्याथ्यु फोर्ड र आयन खानले समान २ विकेट लिए। यता, सन्दीप लामिछाने भने प्रतियोगितामा पहिलो पटक विकेट बिहीन बने । उनले ३ ओभरमा २५ रन खर्चिए।
यसैगरी अर्को खेलमा अर्का नेपाली क्रिकेटर दीपेन्द्रसिं ऐरीको टिम पराजित भएको छ। दीपेन्द्रको टिम मोन्ट्रेल टाइगर्स भ्यान्कोभर नाइट्ससँग ९ विकेको फराकिलो अन्तरले पराजित भयो।
मोन्ट्रेलले दिएको ९९ रनको झिनो लक्ष्य भ्यानकोभरले १४.५ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। उसका लागि मोहम्मद रिजवानले ५४ बलमा ६८ रन बनाउँदा कोर्बिन बोसले २९ बलमा २८ रन बनाए। मोट्रेलका आन्द्रे सरेलले १ विकेछ लिए।
टस जितेर पहिला ब्याटिङ गरेको मोन्ट्रेल १८.३ ओभरमा ९९ रनमै अलआउट भयो। उसका लागि मोहम्मद वासिमले सर्वाधिक २८ रन बनाए। उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
यस्तै, नेपाली अलराउन्डर ऐरीले २७ बलमा ३ चौका प्रहार गर्दै २४ रन बनाए। उनी जुनैद सिद्धिकीको बलमा बोल्ड भएका थिए।
मोन्ट्रेललाई सस्तैमा समेट्ने क्रममा ट्रम्पेलम्यानले ४ ओभरमा १ मेडनसहित ८ रन मात्र खर्चेर ३ किवेट लिए। यस्तै, जुनैद सिद्धिकीले ३ तथा कोर्बिन बोसले २ विकेट लिए।
मेन्ट्रेल यसअघि नै प्लेअफमा पुगिसकेको छ।