कसले जित्ला जिन्दगीमा एकपल्ट मात्र जित्न पाइने ‘गोल्डेन फुट अवार्ड’?

‘गोल्डेन फुट अवार्ड’ फुटबलमा गरेको उत्कृष्ट प्रदर्शन तथा फुटबलका प्रभावशाली व्यक्तित्वहरुलाई दिइने अन्तर्राष्ट्रिय अवार्ड हो। मोनाकोको राजपरिवारले प्रदान गर्ने यो अवार्ड निकै विशिष्ट अवार्डमध्येमा पर्दछ।

सन् २००३ बाट दिन सुरु गरिएको यो अवार्ड कुनैपनि खेलाडीले एकपटक मात्र जित्न सक्छ। यो अवार्डको नोमिनेसनमा पर्नका लागि न्युन्तम २८ वर्षको हुनुपर्नेछ भने व्यावसायिक फुटबलमा पनि सक्रिय हुनुपर्छ।

मापदण्ड बमोजिम अन्तर्राष्ट्रिय पत्रकारहरुले १० जना खेलाडीलाई यो अवार्डका लागि मनोनित गर्दछन्। ति १० जनामध्ये सर्वसाधारणबाट सबैभन्दा बढी अनलाइन भोट पाउने खेलाडीले यो प्रतिष्ठित अवार्ड जित्नेछ। अवार्ड विजेता खेलाडीले मोनाकोको समुद्र अगाडी रहेको ‘च्याम्यिन्स प्रोमिनेड’मा आफ्नो पदछाप स्थायी रुपमा पाउनेछ।

२०२० मा क्रिस्टियानो रोनाल्डोले सो अवार्ड जित्दै आफ्नो ‘फुटप्रिन्ट’ (पदछाप) लाई स्थायी आकार दिएका थिए। २००३ बाट सुरु भएको अवार्डको यो १९औं संस्करण हो।

‘गोल्डेन फुट अवार्ड’को मनोनयनमा परेका मेसीले झण्डै दुई दशकपछि बार्सिलोना छाड्दै पिएसजी गइसकेका छन् भने चेल्सीले लुकाकुलाई क्लबको इतिहासकै सबैभन्दा महंगो खेलाडीका रुपमा ९७.५ युरोमा भित्र्याएको छ। यस्तै, इटालीलाई युरोकप जिताउन कप्तानी भूमिका निर्वाह गरेका किलेनीले युभेन्टससँग नयाँ सम्झाैता गरेका छन्।

को-को परे मनोनयनमा?

लियोनल मेसी

रोबर्ट लेवान्डोस्की

नेयमार

मोहम्मद सलाह

सर्जिओ रामोस

सर्जियो अगुएरो

जेरार्ड पिके

करिम बेन्जेमा

रोमेलु लुकाकु

जर्जियो किलेनी

जिन्दगीमा एकपटक मात्र जित्न पाइने यो अवार्डमा एकपटक जितिसकेको खेलाडीले दोस्रोपटक मनोनयनमा पनि पर्न पाउँदैन। हरेक वर्ष उत्कृष्ट फुटबल खेल्दै फुटबलमा प्रभावशाली व्यक्तित्वका रूपमा विशिष्ट योगदान पुर्‍याउने खेलाडीले यो अवार्ड पाउने गदर्छन्।