पछिल्लो समयमा टि–२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेको बंगलादेशले आइबारबाट सुरु भएको टि–२० विश्वकपमा भने खराब सुरुआत गरेको छ । आइतबार राति भएको खेलमा बंगलादेश स्कटल्यानडसँग ६ रनले पराजित भयो ।
टि–२० विश्वकपको पहिलो चरण अन्तर्गत ओमानको अल अमारत स्टेडियममा स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो।
बंगलादेशका लागि मुस्फिकर रहिमले ३८ रन जोड्दा शकिब अल हसनले २० रन बनाए । कप्तान महमुदउल्लाहले २३ रन जोडे भने अफिफ होसेनले १८ रन बनाए । बंगलादेशलाई रोक्ने क्रममा स्कटल्यान्डका ब्राड ह्विलले ३ तथा क्रिस ग्रिभ्सले २ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ओभरमा ९को क्षतिमा १४० रन बनाएको थियो। उसका क्रिस ग्रिभ्सले ४५ रन बनाउँदा जर्ज मुन्सेले २९ रन जोड्दा मार्क वाटले २२ रन बनाए । बंगलादेशका मेहदी हसनले ३ तथा मुस्ताफिजुर रहमान र शकिब अल हसनले समान २ विकेट लिए ।
विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पहिलो चरणमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी रहेका छन् । यी मध्ये ४ टिम सुपर १२ मा प्रवेश गर्नेछन्।