२ सय ५५ रनको लक्ष्य पछ्याइरहेको नेपाललाई ठूलो झड्का लागेको छ । नेपालले दोस्रो विकेटका रुपमा क्रिजमा जमेटका भरपर्दा ब्याट्सम्यान ज्ञोन्द्र मल्ललाई व्यक्तिगत ३१ रनमा गुमायो ।
मल्लले कप्तान परस खड्कासँग दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । ३५ बलमा ३१ रन बनाएका उनी इमरान हैदरको बलमा एलबिडब्लु आउट भए ।
अहिले नेपाल १५ ओभरमा २ विकेट गुमाउँदै ८२ रन बनाएर खेलिरहेको छ । क्रिजमा कप्तान पारससँगै दीपेन्द्रसिंह ऐरी छन् ।
यसअघि ओपनर विनोद भण्डारी युएईका कप्तान महोम्मद नाभीदको बलमा विकेटकिपर गुलाम सब्बेरद्वारा क्याच आउट भएका थिए । ज्ञानेन्द्र मल्लसँगै ओपनिङमा आएका विनोदले १७ बलमा ९ रन बनाए । उनले पहिलो विकेटका लागि मल्लसँग १९ रनको साझेदारी गरे ।
यसअघि युएईले नेपालाई जितको लागि २ सय ५५ रनको लक्ष्य दिएको थियो । दुबईस्थित आईसिसी क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि युएईले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५४ रन बनायो ।
नेपाल र युएईबीचको ३खेलको सिरिज अहिले १–१ को बराबरीमा छ । पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले १ सय ४५ रनको विशालअन्तर जितेको थियो ।