ज्ञानेन्द मल्ल नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान र भरपर्दा ब्याट्सम्यान । टि–२० विश्वपकको एसिया छनोटअघि पछिल्लो समय खराब लयबाट गुज्रिरहेका ज्ञानेन्द्रको खुबै आलोचना भयो । तर, उनले प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरे । नेपाल भने निर्णायक खेलमा सिंगापुरसँग पराजित हुँदै विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भयो । पारसको अनुपस्थितिमा एक खेलमा कप्तान जिम्मेवारीमा पनि सम्हालेका ज्ञानेन्द्रले टि–२० विश्वकपको एसिया छनोटमा नेपालको प्रदर्शन र टिमको असफलतालाई यसरी विश्लेषण गरेका छन् :
पहिलो खेलमा अप्रत्याशित रुपमा कतारसँग पराजित भयौं । त्यसपछि हामी सुरुमै दबाबमा प¥यौँ । प्रतियोगिता जुन संरचनामा भइरहेको थियो, त्यसले एउटा खेलमा पराजित हुँदा नै दबाब सिर्जना हुने स्थिति थियो । पहिलो खेलपछि नै हामी अन्य टोलीको खेलमा निर्भर भयौं ।
हारको तनाव त छँदै थियो, कप्तान पारस (खड्का)को चोटले झन दियो । पहिलो खेलमै कतारविरुद्ध ब्याटिङका क्रममा पारसको ढाड सड्कियो । दोस्रो खेल मलेसियासँग थियो । वर्षाले त्यो खेल पनि समयमा सुरु हुन सकेन । त्यसलाई हामीलाई थप तनाव दियो । हाम्रा लागि खेल सुरु आवश्यक थियो, खेल नभएको अवस्थामा हाम्रो ग्लोबल छनोटको सम्भाना त्यहीँ सकिने थियो ।
खेल नौ ओभरको हुने भयो । हामी त्यो खेलमा लक्ष्य पछ्याउन चाहन्थ्यौँ । हाम्रो इच्छाअनुसार नै भयो । मलेसियाले राम्रै ब्याटिङ ग¥यो । मलेसियाविरुद्ध बलरले राम्रो कमब्याक गरे । थोरै ओभरमा सबैले ठूलै योगफलका लागि खेल्छन् । मलेसियाले पनि त्यसै ग¥यो र, हामीलाई ८४ रनको लक्ष्य दियो ।
पारस घाइते भएपछि मलेसियाविरुद्ध प्रदीप र मैले इनिङको सुरुवात ग¥यौँ । साझेदारी राम्रो बन्यो । खेललाई अन्तिम ओभरसम्म लानुहुन्न भन्ने सोच थियो । किनभने, कहिलेकाहीँ अन्तिम ओभरको खेल सोचेजस्तो हुँदैन । त्यही योजनाअनुसार हामीले सुरुवातबाटै आक्रामक खेल्यौँ । जित निश्चित भयो ।

०००
अर्को खेलमा सिंगापुरले मलेसिया र कुवेतले कतारलाई पराजित गरेपछि हाम्रा लागि विश्वकप छनोट सम्भावना फेरि हाम्रै हातमा आयो । त्यसका लागि बाँकी दुवै खेलमा जित आवश्यक थियो । तेस्रो खेलमा कतारलाई पराजित ग¥यौँ । चोटमुक्त हुँदै फर्किएका कप्तान पारसले ६८ रन बनाए । त्यो खेलमा अझ कुवेतलाई एक सय २० रनभित्रै रोक्न सक्थ्यौँ । बलिङ र फिल्डिङका कारण २०–२१ रन बढी गयो ।
सिंगापुरसँगको खेल फाइनलजस्तै थियो । त्यही खेलमा हामी चुक्यौँ । यो खेलमा हामीले बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा आफ्नो क्षमताअनुरूप प्रदर्शन गर्न सकेनौँ । खेलमा नेपाली बलरको धार देखिएन । फिल्डिङ पनि त्यसअनुसार हुन सकेन । त्यसपछि ब्याटिङमा ‘क्लिक’ हुनुपथ्र्याे । त्यो पनि भएन ।
सिंगापुरले निकै राम्रो प्रदर्शन ग¥यो । उनीहरूले बाउन्ड्रीमा केही उत्कृष्ट क्याच लिनुका साथै बलिङ र ब्याटिङमा पनि उत्तिकै सशक्त प्रदर्शन गरे । टी–२० क्रिकेटमा सिंगापुर हामीभन्दा पछि छ । तर, टी–२० क्रिकेटमा स्तर भन्ने हुँदैन । निश्चित दिनमा जुन खेलाडी वा टोलीले राम्रो ग¥यो, जित उसकै हुन्छ । त्यो दिन हामी क्लिक हुन सकेनौँ ।
०००
प्रतियोगिता अवधिभर हामीले राम्रो फिल्डिङ गर्न सकेनौं । यो प्रतियोगिता हामीले हाम्रो स्तर अनुसारको फिल्डिङ गर्न सकेनौं । निर्णायक खेलमा हामी तीनै पक्षमा कमजोर रह्यौँ । यसअघि हाम्रो जितको मुख्य आधार बलिङ नै हुने गथ्र्याे । तर, यसपटक निर्णायक खेलमा हामीले बलिङमा स्वाभाविक प्रदर्शन गर्न सकेनौँ ।
०००
हामीले विशेषगरी प्रतियोगिताको पहिलो खेलमा कतारविरुद्ध करण (केसी) र सोम (सोमपाल कामी)लाई अलराउन्डरका रूपमा खेलाएका हौँ । यो निर्णय सही भएन भनेर आलोचना पनि सुनियो । तर, प्रतियोगिताअघि करण र सोमले खेल्न सक्दैनन् भनेर कसले पो भन्न सकेको थियो र ! हामी करण र सोमलाई अलराउन्डरकै रूपमा हेर्छौं । हामी वसन्त रेग्मीसम्म ब्याटिङ गर्न सक्छ भन्छौँ । तर, परिआएका वेला त्यही ब्याटिङको जिम्मेवारी दिँदा गलत हुने ? हामी सधैँ नतिजालाई लिएर आलोचना गर्छौं, जुन गलत हो ।

प्रायः अन्तर्राष्ट्रिय खेलमा हाम्रो ब्याटिङ एकनाशको हुँदैन । यसमा हामीले कुन स्तरमा अभ्यस्त भएर त्यो प्रदर्शन दिएका छौँ भन्ने कुरा महŒवपूर्ण हो । यदि तपाईं तयारीविना बोर्ड परीक्षा दिन जानुभयो भने के हुन्छ ? यदि तपाईंलाई पौडिन आउँदैन भने एकैपटक पोखरीमा हामफाल्दा त मर्ने नै सम्भावना रहन्छ नि !
हो, हाम्रो हकमा पनि त्यस्तै भएको हो । ब्याट्सम्यानसँग कमब्याक गर्ने अवसर नै हुँदैन । बलरको हातबाट बल फुत्किएपछि कुन सट खेल्ने वा त्यो बललाई कहाँ प्रहार गर्ने भन्ने निर्णय गर्न ब्याट्सम्यानसँग केवल आधा सेकेन्ड मात्रै समय रहन्छ । त्यति छिटो समयमै कुन बललाई कुन सट कहाँ हान्ने भन्ने निर्णय गरिसक्नुपर्छ । त्यसका लागि हामीले पनि त्यसकिसिमको अवस्थालाई बारम्बार अनुभव गरेको हुनुपर्छ । अनि मात्रै सहजसँग त्यो अवस्थालाई सम्हाल्न सक्छौँ । तर, हामीले यस्तो अवसर निकै कम पाउँछौँ ।
०००
मलाई राम्रोसँग थाहा छ, सन् २०१४ को विश्वकप खेलेपछि नेपालको घरेलु क्रिकेटमा फरक माहोल बन्यो । क्रिकेट क्रेज ह्वात्तै बढ्यो । त्यसकै प्रतिफल हो, अहिले पनि हाम्रो टिम बेन्च बलियो छ । बंगलादेशबाट विश्वकप खेलेर फर्किंदा मैले नै भनेको थिएँ, यो एउटा मात्रै विश्वकपले पुग्दैन ।
हामीले अझै विश्वकप खेल्न सकेको भए घरमा अझै क्रिकेटको माहोल बढ्ने थियो । पहिलोपटक विश्वकप खेलेपछि नै कर्पाेरेट क्षेत्रको क्रिकेटप्रतिको दृष्टिकोण फरक भएको छ । अभिभावकले आफ्ना नानीलाई क्रिकेट खेल्न प्रेरित गर्न थाल्नुभएको छ । सायद, त्यसपछि फेरि अर्को विश्वकप पनि खेल्न सकेको भए क्रिकेटलाई पेसाकै रूपमा अँगाल्नेहरू पनि बढ्थे होलान् । सिंगापुरमा पहिलो स्थानमा उक्लिन नसक्दा हामीलाई त्यो अवसर गुमाएको महसुस भएको छ ।
०००
हाम्रा लागि यो नै अन्त्य होइन, हामीसामु अझै निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगिता छन् । प्रशिक्षक भर्खरै आउनुभएको छ । उहाँले मात्र एक महिना नेपाली खेलाडीसँग बिताउन पाउनुभएको छ । प्रशिक्षकसँग पनि रातारात परिवर्तन ल्याउने कुनै जादुको छडी हुँदैन । त्यसका लागि समय लाग्छ । नयाँ प्रशिक्षक आउँदा त्यसको प्रभाव खेलाडीको व्यक्तिगत सुधारमा कति परेको छ भन्ने कुराको अनुभव खेलाडीले नै गर्ने हो । त्यो पनि भविष्यको नतिजाले देखाउला । त्यसका लागि प्रतीक्षा गर्न सक्नुपर्छ । हामीले अहिलेको नतिजालाई मात्रै होइन, भविष्यलाई पनि हेर्न सक्नुपर्छ ।
सायद, कुनै पनि खेलाडीले व्यक्तिगत उपलब्धिका लागि मात्र खेलेको हुँदैन । मलेसियाविरुद्ध पनि मैले स्वाभाविक खेल खेल्दा २० बलमा ५० रन बन्यो, जुन नेपालका लागि सर्वाधिक छिटो टी–२० अर्धशतकको कीर्तिमानका रूपमा रह्यो । यो कुनै योजनाअनुसारको उपलब्धि थिएन ।
मानवीय स्वभाव नै हो, यदि कसैले तपाईंलाई प्रशंसा गर्छ भने खुसी महसुस हुन्छ । यो उपलब्धिमा मैले पनि खुसी महसुस गरेँ । तर, यदि त्यो खेलमा टोली पराजित भएको थियो भने मेरो उपलब्धिको अर्थ हुने थिएन । त्यसैले व्यक्तिगत उपलब्धीको स्वाद पनि त्यति खेर आउँछ जतिखेर टोलीले पनि सफलता हात पारेको हुन्छ ।
(श्रीलोचन राजोपाध्याय/दीपेन्द्र गुरुङ, नयाँ पत्रिका दैनिक)