लर्डस् मा आइतबार राति भएको खेलमा ४९ रनको जित निकालेसँगै पाकिस्तानको समेमिफाइनल सम्भावना कायमै रहेको छ । लड्र्समा भएको खेलमा दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गरेपछि पाकिस्तानको ६ खेलमा ५ अंक भएको छ र उसको सेमिफाइलन सम्भावना जिवितै रहेको छ ।
इंग्ल्यान्डमा जारी प्रतियोगितामा पाकिस्तानले ३ खेल खेल्न बाँकी छ । उसले न्युजिल्यान्ड, बंगलादेश र अफगानिस्तानसँग खेल्न बाँकी छ । सेमिफाइनलमा पुग्न उसले बाँकी तीनवटै खेल जित्नु पर्ने छ भने अरुको खेलमा पनि भर पर्नुपर्ने छ ।
पाकिस्तानलाई सेमिफाइनलमा स्थान बनाउन इंग्ल्यान्ड र श्रीलंकाको खेलमा भरपर्नु पर्ने हुन्छ । इंग्ल्यान्ड र श्रीलंका दुवैले समान ३ खेल्न बाँकी छ । इंग्ल्यान्डको ८ अंक छ भने श्रीलंकाको ६ अंक छ । पाकिस्तानले तीनवटै खेल जितेको अवस्थामा इंग्ल्यान्डले २ र श्रीलंकाले १ खेल गुमाउँदा उ चौथो टिमका रुपमा सेमिफाइलन पुग्ने छ ।
प्रतियोगितामा ११, १० र ९ अंक जोेडेका न्युजिल्यान्ड, अस्ट्रेलिया र भारत सेमिफाइनलमा पुग्ने लगभग निश्चित छ । न्युजिल्यान्ड र अस्ट्रेलियाले ६ खेल खेलेका छन् भने भारतले ५ खेल मात्र खेलेको छ ।
पाकिस्तानविरुद्ध हारसँगै दक्षिण अफ्रिकाको च्याम्पियन बन्ने सपना एक पटक पुनः अधुरै रह्यो । दक्षिण अफ्रिकाको ७ खेलमा ३ अंक छ ।
पाकिस्तान ४९ रनले विजयी
पहिला ब्याटिङ गर्दै पाकिस्तानले दिएको ३०९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५९ रन मात्रा बनाउन सक्यो । कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ६३ रन बनाए । उनले ६९ बल खेल्दै ५ चौका प्रहार गरे । यस्तै, क्वेन्टन डी ककले ४७, एन्डिले फेलुक्वायोले ४६, भान डेर डुसानले ३६ र डेभिड मिलरले ३१ रनको योगदान दिए ।
दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका वाहब रियाज र शदाब खानले समान ३ विकेट लिए भने मोहम्मद आमीरले २ र साहिन शाह अफ्रिदीले १ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले ह्यारिस सोहेलको उत्कृष्ट ब्याटिङ मद्दतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३०८ रन बनायो । पहिलो पटक विश्वकप टिमा परेको सोहेलले ५९ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ८९ रन बनाए ।
यस्तै, बाबज अजामले पनि अर्धशतकीय योगदान दिए । उनले ८० बलमा ७ चौका प्रहार गर्दै ६९ रन बनाए । ओपनरद्वय इमाम उलहक र फखर जमानले समान ४४ रन बनाए भने इमद वासिमले २३ र मोहम्मद हाफिजले २० रन बनाए ।
दक्षिण अफ्रिकाका लुंगी एनगिडीले ३ विकट लिए भने इमरान ताहिरले २ तथा फेलुक्वायो र एइडेन मारक्रमले समान १ विकेट लिए ।