टि–२० विश्वकपमा पाकिस्तानको लागातार दोस्रो जित, न्युजिल्यान्ड ५ विकेटले पराजित

पाकिस्तानले टि–२० विश्वकपमा लागतार दोस्रो जित निकालेको छ। लगातार दोस्रो जित निकाल्ने क्रममा पाकिस्तानले मंगलबार सारजाहमा भएको खेलमा न्युजिल्यान्डमाथि ५ विकेटको जित निकाल्यो।

लागतार दोस्रो जितसँगै पाकिस्तान सुपर सिक्सको समूह २बाट सेमिफाइनल नजिक पुगेको छ। उसले पहिलो खेलमा भारतलाई १० विकेटले हराएको थियो। अब उसले अफगानिस्तान, स्कटल्यानड र नामिबियासँग खेल्नेछ।

पहिला ब्याटिङ गर्दै न्युजिल्यान्डले दिएको १३५ रनको सामान्य लक्ष्या पाकिस्तानले १८.४ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । उसका लागि मोहम्मद रिजवानले सर्वाधिक ३३ रन बनाउँदा आसिफ अलीले १२ बलमा २७ र सोएब मल्लिकले २० बलमा २६ रनको महत्वपूर्ण इनिङ खेले।

न्युजिल्यान्डका लागि इश सोधीले २ विकेट लिए भने मिचेल सान्टनर, टिम साउथी र ट्रेन्ट बोल्टले समान १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनायो । उसका लागि डारयल मिचेल र डेभोन कन्वेले समान २७ रन बनाउँदा कप्तान केन विलियम्सनले २५ रन बनाए।

न्युजिल्यान्डलाई सस्तैमा रोक्ने क्रममा पाकिस्तानमा हरिस रउफले घातक बलिङ गरे। उनले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए। यस्तै, साहिन साह अफ्रिदी, इमद वासिम र मोहम्मद हाफिजले सामान १ विकेट लिए।