ह्यारी केन टोटनह्याममै बस्लान् त?

जारी समर ट्रान्सफर विन्डोमा केही उल्लेखनीय ट्रान्सफरहरु भए। युरोपका शीर्ष लिगहरुबीच र लिग भित्रै पनि स्टार खेलाडी आदानप्रदान भए।

तर, ट्रान्सफर विन्डो सुरु हुनु अगावै देखि हल्ला सुरु भएको एउटा ट्रान्सफर भने अहिलेसम्म ठोस नतिजामा पुग्न सकेको छैन– ह्यारी केन।

गत सिजन सकिए सँगै लिग विजेता म्यानचेस्टर सिटीले ह्यारी केनलाई आबद्ध गर्न चासो देखाएको समाचारहरु फाट्टफुट्ट आउने गरेका थिए। ट्रान्सफर विन्डो खुल्ने दिन नजिकिएसँगै हल्ला चर्किन थाल्यो। लामो समय चर्चामा रहेर अहिले फेरि केनको ट्रान्सफर ओझेलमा परेको छ।

म्यानचेस्टर सिटीले इंग्ल्यान्डका कप्तान ह्यारी केनका लागि गरेको १०० मिलियन पाउन्डको प्रस्ताव टोटनह्यामले अस्विकार गरेको थियो। अगुएरो बार्सिलोना गएसँगै सिटी केनलाई आफ्नो अट्याकको जिम्मेवारी सुम्पिन ध्याउन्नमा थियो।

यता टोटनह्याम भने केनलाई बेच्ने वा नबेच्ने भनेर निश्चित छैन। धेरै हदसम्म लण्डन क्लब केनलाई नबेच्ने पक्षमा छ, तर उनका लागि आएका प्रस्तावमा भने चासो दिइरहेको छ। यसर्थ, स्पर्स सकेसम्म केनलाई बेच्न चाहँदैन, तर उल्लेखनीय मोल पाए बेच्नबाट पछि हट्ने छैन।

पछिल्लो समय भने स्पर्सका अध्यक्ष डेनियल लिभाईले भने जारी ट्रान्सफर विन्डोमा केनलाई नबेच्ने मनस्थिति बनाएका छन्। अब ट्रान्सफर विन्डो बन्द हुन्द सात दिन मात्र बाँकी छ। क्लबका अध्यक्षले बेच्न नचाहे पनि केनले छाड्ने मनस्थिति बनाएको खण्डमा स्पर्स उनलाई रोक्न सक्ने छैन।

अहिले देखिएको केनको एकमात्र गन्तव्य एटिहाडमात्र हो। स्पर्सलाई पनि डिफेन्डिङ च्याम्पियनले नै आफ्ना मुख्य खेलाडी उछिट्याउला कि भन्ने ठूलो डर छ। स्पर्सलाई सबैभन्दा डर भने केनका लागि सिटीले १५० मिलियन पाउन्डको प्रस्ताव राख्ला कि भन्ने हो।

टोटेनह्याम अहिले सकेसम्म केनले क्लब नछाडे हुन्थ्यो भन्ने चाहन्छ, तर सिटीले १५० मिलियन पाउन्डको प्रस्ताव ल्याएमा उनलाई एटिहाड नपठाउन उसँग धेरै कारण हुने छैनन्।

सिटी पनि अहिले ट्रान्सफर विन्डोको अन्तिम हप्तातिर केनका लागि अन्तिम प्रस्ताव गर्ने तयारी गर्दै छ। सिटीले गर्ने प्रस्ताव स्पर्सका अध्यक्षको इंग्ल्यान्डका कप्तानलाई क्लबमै राख्ने इच्छालाई डगमगाउन सक्षम हुनेछ वा हुनेछैन भन्ने कुरा अब ७ दिनमा पत्ता लाग्ने नै छ।

सिटीले गरेको केनको भ्यालुएसन र स्पर्सले गरेको भ्यालुएसनमा ठूलो अन्तर छ। ज्याक ग्रिलिसलाई १०० मिलियन पाउन्डमा अनुबन्ध गरेको सिटीले केनको पनि त्यति नै मूल्यांकन गरेको छ। तर, स्पर्स भने १५० मिलियन पाउन्डभन्दा कमको प्रस्तावमा डगमगाउने वाला छैन।

सिटीले गरेको १०० मिलियन पाउन्डको पछिल्लो प्रस्ताव पूर्ण रुपमा नगदी नभएको स्पोर्ट्समेलले जनाएको छ। सिटीले ७५ मिलियन पाउन्ड नगदसहित बाँकी २५ मिलियन भने शर्तात्मक थप रकमका रुपमा दिने प्रस्ताव गरेको थियो।

गत हप्ता केनका निकटवर्ती स्रोतले सिटी उनलाई अनुबन्ध गर्न १२५ मिलियनको अफर गर्न लागेको जनाएका थिए। अहिलेसम्म सिटीका तर्फबाट आधिकारिक प्रस्ताव आइनसकेको भएपनि बाँकी एक हप्ताको समयमा कुनैपनि बेला सिटीले उनका लागि अन्तिम प्रयास गर्ने निश्चित छ।

सिटीसँग अब केबल तीनवटा विकल्प छन्ः

१) केनलाई अगुएरोको उत्तराधिकारीका रुपमा हेर्न छाडेर अर्कै विकल्प खोज्ने

२) केनका लागि स्पर्सले अपेक्षा गरेको मूल्य तिर्ने

३) हालकै स्क्वाड लिएर सिजन जारी राख्ने

केनले पछिल्लो समय सामाजिक सञ्जालमा गरेको पोस्ट हेर्दा उनी स्पर्समै बस्न तयार भएको प्रतित हुन्छ। उनले सामाजिक सञ्जालमा दुईवटा पोस्ट गर्दै आफु टोटनह्यामै खेलाडी भएको बताएका थिए भने वुल्भ्सविरुद्धको खेलमा पनि अन्तिम समयतिर मैदान प्रवेश गरेका थिए।

स्पर्सका अध्यक्षको धारणा र केनको प्रतिबद्धता देख्दा उनी यो सिजन नर्थ लण्डन क्लबमै बस्ने बुझिन्छ। यद्यपी, ट्रान्सफर मार्केटमा म्यानचेस्टर सिटी र पेप ग्वार्डिओलालाई कम आँक्न भने हुँदैन।