युवा विंगर काइ हाभर्ट्जले ह्याट्रिक गरेपछि कारबाओ कपको तेस्रो चरणमा चेल्सीले सानदार जित हात पारेकोछ । बुधबार राति भएको खेलमा हाभर्ट्जले ह्याट्रिक गरेपछि बर्नस्लीलाई ६–०ले हराउँदै चेल्सी चौथो चरणमा प्रवेश गरेको छ ।
चेल्सीको सानदार जितमा हाभर्ट्जले ह्याट्रिकसँगै टोमी अब्राहम, रोस बार्कली र ओलिभर जिरुडले पनि गोल गरे । एकपक्षीय खेलमा चेल्सीले पहिलो हाफमा २ र दोस्रो हाफमा ४ गोल गरेको थियो ।
हाभर्ट्जसले २८, ५५ र ६५औं मिनेटमा गोल गर्दै सिनियर क्लब फुटबलमा पहिलो ह्याट्रिक पुरा गरे । अब्राहमले १९औं, बार्कलीले ४९औं र जिरुडले ८३औं मिनेटमा गोल गरेका थिए ।
सिजनको सुरुवातमा चेल्सी आएका २१ वर्षीय जर्मन विंगर हाभटर््ज लन्डन क्लबमा तीन खेलपछि गोल गर्न सफल भए । उनी जर्मन क्लब बायर लिभरकुसनबाट ७१ मिलियन पाउण्डमा चेल्सी आएका हुन् ।
डिफेन्डर थियगो सिल्भाले चेल्सीबाट पहिलो पटक डेब्यु गरेका थिए । ३६ वर्षका ब्राजिली डिफेन्डर यसै सिजन पिएसजीबाट फ्रि ट्रान्सफरमा लण्डन क्लब आएका हुन् ।
चेल्सीले अर्को चरणमा टोटेनहम वा लिटन ओरिएन्ट मध्य एकको भ्रमण गर्नेछ । मंगलबार टोटेनहमको खेल स्थगित बनेको थियो । लिटन ओरिएन्टका अधिकांश खेलाडीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि खेल रद्ध गरिएको होे ।